रास्वपाले तोक्यो जिल्ला सम्पर्क सांसद
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७७ वटै जिल्लाबाट सम्पर्क गर्नका लागि सांसद तोकेको छ।
जनताको आवाज संसद्सम्म पुर्याउन सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले बताए। बेथिति, भ्रष्टाचार, विकास योजना जस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोन बाहेक आफ्ना सूचना र सन्देश ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ।
रास्वपाले विज्ञप्ति जारी गरी सांसद डोलप्रसाद अर्याललाई बारा, धादिङ, कञ्चनपुर र कैलाली, विराजभक्त श्रेष्ठलाई गुल्मी, दार्चुला, अछाम र पाल्पा, सन्तोष परियारलाई भक्तपुर, अर्घाखाँची, दैलेख र बाजुरा, निशा डाँगीलाई झापा, मोरङ, इलाम र सल्यानको जिम्मेवारी दिएको छ।
त्यस्तै, मनीष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङ, गणेश पराजुलीलाई ओखलढुंगा, खोटाङ, सिरहा र डडेल्धुरा, सोविता गौतमलाई दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोटको जिम्मेवारी दिएको छ।
सांसद सुमना श्रेष्ठलाई रसुवा, काठमाडौं, रुकुमपूर्व र रुकुमपश्चिम तथा डा. तोसिमा कार्कीलाई ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुरको जिम्मेवारी तोकिएको रास्वपाले जनाएको छ।
यसैगरी, शिशिर खनाललाई रोल्पा, दाङ, सर्लाही र सप्तरी, हरि ढकाललाई सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुर, स्वर्णिम वाग्लेलाई गोरखा, पर्सा, बैतडी र तनहुँ, डा. चन्दा कार्कीलाई भोजपुर, सिन्धुली, मनाङ र महोत्तरीको जिम्मेवारी दिइएको छ।
सांसद असीम साहलाई काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तु, लक्ष्मी तिवारीलाई प्यूठान, परासी, बर्दिया र बाँके, अशोककुमार चौधरीलाई धनकुटा, तेह्रथुम, संखुवासभा र सुनसरीको जिम्मेवारी दिइएको छ। शिव नेपालीलाई लमजुङ, म्याग्दी, पर्वत र कास्की, विनिता कठायतलाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत र डोल्पा तथा विन्दबासिनी कङ्साकारलाई स्याङ्जा, बाग्लुङ र मकवानपुरको जिम्मेवारी तोकिएको छ।
रास्वपाले भनेको छ, “नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदसँग देशभरका सचेत नागरिकले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न, आम आवाजलाई नीतिमा समेट्ने र अब्बल नीति र त्यसको कार्यान्वयन मार्फत मुलुकको अवस्था बदल्न सांसदलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको व्यहोरा सबैलाई विनम्र सूचित गर्दछौं।”