साउदीको अमेरिकी वाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षा गार्डको मृत्यु
दुईतर्फी गोली चल्दा अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ।
साउदी अरेबियाको जेद्दा शहरमा गोली चल्दा एक नेपालीको मृत्यु भएको छ। बुधबार जेद्दामा अवस्थित अमेरिकाको वाणिज्य दूतावास बाहिर गोली चल्दा शुरूमा गोली चलाउने व्यक्ति सहित नेपाली सुरक्षा गार्डको मृत्यु भएको हो।
साउदी अरेबियाको सरकारी समाचार संस्था साउदी प्रेस एजेन्सीका अनुसार मृतक नेपाली सुरक्षा गार्ड उक्त वाणिज्य दूतावासको निजी सुरक्षामा कार्यरत थिए। उनको नाम भने खुलाइएको छैन।
मक्का क्षेत्रका प्रहरी प्रवक्ताका अनुसार मृतक नेपाली सुरक्षा गार्ड शुरूमा घाइते भएका थिए। अलि पछि मात्र उनको ज्यान गएको थियो।
“कारमा आएका एक व्यक्ति अमेरिकी वाणिज्य दूतावास नजिकै आएर रोकिए। कारबाट हातमा बन्दूक बोकेर उनी बाहिर निस्किए,” ती प्रहरी प्रवक्ताले भने, “त्यसपछि दुईतर्फी गोली चल्दा बन्दूक बोकेका व्यक्तिको मृत्यु भयो।”
अमेरिकी वाणिज्य दूतावासका प्रवक्ताले मृतक नेपाली सुरक्षा गार्डका परिवारप्रति समवेदना प्रकट गरेका छन्।
घटनामाथि अनुसन्धान जारी छ। उक्त घटनामा कुनै पनि अमेरिकी नागरिक भने चोटग्रस्त भएनन्।