बाँदर नियन्त्रणको माग गरी संसद् अगाडि किसानको धर्ना
बाँदर नियन्त्रणको माग गरी धादिङका किसानले बागमती प्रदेश सभा अगाडि धर्ना दिएका छन्।
बाँदरले बाली नष्ट गर्न थालेपछि धादिङका बासिन्दा दुई वटा बस रिजर्भ गरेर प्रदेश राजधानी हेटौंडा पुगेका हुन्। बुधबार हेटौंडा पुगेका उनीहरूले प्रदेश सभा भवन अगाडि धर्ना दिएका छन्।
नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका र सिद्धलेक गाउँपालिका लगायत विभिन्न गाउँबाट आएका १५० जना किसानले बाँदर नियन्त्रणको माग गर्दै नाराबाजी गरेका थिए। यसअघि पटक पटक माग गर्दा पनि सुनुवाइ नभएपछि धर्ना बस्न आएको उनीहरूले बताए।
उनीहरूले बाँदर नियन्त्रणका लागि कानून बनाएर पहल गर्न माग गरेका छन्। त्यस्तै, बाँदरबाट भएको क्षतिमा राहतको व्यवस्था गर्न पनि किसानको माग छ।
किसानसँग छलफल गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बाँदर नियन्त्रणका लागि सरकारले पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
मकवानपुरको राक्सिराङ, मकवानपुरगढी लगायत स्थानीय तहमा पनि बाँदरको समस्या छ। बाँदर तर्साउन स्थानीय तहले बन्दूक पनि वितरण गरेको थियो। तर, त्यो पनि प्रभावकारी नभएको किसानले बताएका छन्।