शिवशिखर सहकारी सञ्चालक शर्माले साढे ११ अर्ब हिनामिना गरेको प्रहरीको निष्कर्ष
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक जना सहकारी सञ्चालकले विभिन्न सहकारी संस्थामा बचत गरिएको साढे ११ अर्बभन्दा बढी रकम हिनामिना गरेको जनाएको छ।
सहकारीमा बचतकर्ताको रकम हिनामिनाको आरोप लागेपछि फरार भएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाइजेशनका सञ्चालक केदारनाथ शर्मालाई सीआईबीले पक्राउ गरेको हो।
उनलाई यही असार ११ गते नेपालगन्जबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ। सीआईबीले उनलाई बुधबार सार्वजनिक गरेको छ।
उनी सहितको समूहमाथि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कौशलटार, भक्तपुरमा मुख्य कार्यालय रही देशभर ३५ जिल्लामा रहेका शाखा कार्यालय मार्फत एक लाख ६८ हजार ७२५ निक्षेपकर्ता सदस्यको १० अर्ब ७७ करोड ७६ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ।
यस्तै, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार १५४ निक्षेपकर्ता सदस्यको एक अर्ब ५४ करोड ७५ लाख रकम प्रचलित सहकारी ऐन र नियमावली विपरीत सहकारी संस्थाबाट आफू तथा आफ्ना नजिकका व्यक्तिका नाममा सञ्चालित ४३ विभिन्न कम्पनीमा ऋण लगानी गरी हिनामिना गरेको पाइएको सीआईबीले जनाएको छ।
उक्त रकमको सावाँब्याज समेत सहकारी संस्थामा फिर्ता नगरी, सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र आफ्ना नजिकका व्यक्तिका नाममा जग्गाजमीन, सवारीसाधन खरीद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई हानि-नोक्सानी पुर्याएको पाइएको सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।