आँगनमै पुस्तकालय
समुदायमा ज्ञानको हस्तान्तरण गर्न व्यक्तिका घरको आँगन आँगनमा चलाइएको निःशुल्क बाकस-पुस्तकालयको अमेरिकी अभ्यास नेपाली टोल-समाजमा पनि गर्न सकिन्छ।
अमेरिकाको टेक्सस राज्यस्थित डलास शहरको एक कुनामा हिंड्दै थिएँ, सडकपेटी छेउ चिठी खसाल्नेभन्दा केही ठूलो बाकस ठडिएको देखें। दर्जनभन्दा कम नै सही, भित्र पुस्तकहरू मिलाएर राखिएका। बाकसको ढोकामा ताला थिएन।
यो सामुदायिक पुस्तकालय रहेछ, जसमा पुस्तक हुनेहरूले छोड्न र आवश्यक पर्नेले लिन सक्छन्। यसको संयोजन यहाँको ‘शेयर विद अदर्स’ (अरूलाई बाँडौं) नामको संस्थाले गरिदिएको छ।
आफ्नो समुदायलाई पुस्तकको संसारबाट पोषण गर्न सकिने यो काइदाको उदाहरण लाग्यो।
जनवरी २०१९ मा अमेरिकी नागरिक सुसनले शुरू गरेको ‘निःशुल्क पुस्तकालय’ अभियान रहेछ यो। दिवङ्गत श्रीमान् टोड बलको सम्झनामा उनले पुस्तकालय अभियान शुरू गरेकी हुन्। अमेरिकाकै मिनिसोटा राज्यमा रहेको टोडको परिवारले यसलाई ‘परोपकार उद्देश्यसाथ सञ्चालित सामुदायिक पुस्तकालय’ नाम दिएको छ। टोडको निधन पेटको क्यान्सरबाट सन् २०१८ मा भएको थियो।
मानिसहरूले आआफ्ना आँगनमा वा घरको प्रवेशद्वारसँगै खडा गर्न सक्ने यी बाकस-पुस्तकालयमा आफूले पढेका र आफूलाई राम्रो लागेका पुस्तक राख्न सक्छन्। यो धान्नै नसकिने खर्चिलो पनि छैन। यसले आफू बसेको समाजलाई अध्ययनशील बनाउन थोरै भए पनि मद्दत गर्न सक्छ।
समाज सुन्दर छ र यस्ता प्रयासले संसारलाई थप सुन्दर बनाउन हरेकले केही गर्न सकिन्छ भन्ने सन्देशसाथ यो पुस्तकालय अभियान शुरू गरिएको सञ्चालक संस्था शेेयर विद अदर्सको वेबसाइटमा उल्लेख छ।
नेपालका हाम्रा गाउँघरमा पनि इच्छुक व्यक्तिले केही हजार खर्चमै चलाउन सक्ने यो अभियानबारे मैले नेपाली पाराले सोचें।
कक्षा ७ मा पढ्दाको कुरा हो, एक दिउँसो टिफिन टाइममा नेपाली विषयका शिक्षक रुद्र निरौलाले अदबसाथ ‘पुस्तकालयमा आउनू’ भनेको सम्झन्छु। झापा, दमकको सरस्वती माविमा पुस्तकालय भेट्ने पहिलो पुस्ताका छात्रछात्रा थियौं हामी।
रुद्र सरले ‘हरेक साता यस्ता पुस्तक छिचोल्नू’ भनेर दिंदै जाँदा नै मैले एक चिहान, मोदिआइन, नरेन्द्र दाइ, बसाइँ जस्ता उपन्यास पढेको हुँ। त्यस वेला पढेका पुस्तकका कथा र पात्रहरू अझै पनि स्मृतिमा ताजै छन्। धन्न वाक्पटु रुद्र सरले त्यो दिन पुस्तकालय जान उर्दी गर्नुभएछ!
दमक-१३ (हाल दमक-८) मा मेरा एक मित्र छन्, भेषराज न्यौपाने। घरमै लडेर स्पाइनल इन्जुरी भएका उनले ‘दमक पब्लिक लाइब्रेरी’ शुरू गरेका थिए। उनको त्यो पुस्तकालय हालै नाम बदलिएर ‘डाइनामिक पब्लिक लाइब्रेरी’ (डीपीएल) भएको छ। हिजोआज डीपीएलले शाखा विस्तार गरिरहेको र ठाउँ ठाउँबाट सहयोग पाइरहेको सुन्दा खुशी लाग्छ।
दमकमा केही वर्ष बसेका एकजना सहृदयी अमेरिकी ब्रायन हलले डीपीएललाई सहयोग जुटाउन गरेको प्रयत्न दमकले कहिल्यै नभुल्ने गुन हो। उनले ‘क्राउड फन्ड’ को माध्यमबाट पुस्तकालयलाई सहयोग जुटाइदिएका थिए। डीपीएल पुस्तकालय मात्र होइन सार्वजनिक विमर्शको एउटा थलो नै बनेको छ। कुनै पनि विषयमा छलफल गर्नुपर्दा डीपीएललाई सम्झन थालिएको छ।
कुनै पनि ठाउँ भौतिक रूपमा कति सफा छ भन्ने जान्न त्यहाँको सडक हेरे पुग्छ। त्यसैगरी समुदाय कत्तिको जुझारु र विवेकीे छ भन्ने पत्ता लगाउन त्यहाँ पुस्तकालय हेरे पुग्छ भनिन्छ। धन्न भेषराजजीले दमकमा पुस्तकालयको बीउ रोपिदिनुभयो, र हामीकहाँ पनि यस्तो निधि छ भन्न पाइएको छ।
पुस्तकालय ज्ञानका स्रोत हुन्। विद्यालय र विश्वविद्यालय गएका हामी हरेकका घरमा केही न केही पुस्तक हुन्छन्। तीमध्ये कतिपय पुस्तकका पाना नउघारिएको वर्षाैं भइसक्यो होला। धूलो र माकुराको जालोमा पुरिने, धमिराले खाएर नाशिने, भिजेर नष्ट हुने वा चटपटे पसलमा सस्तोमा बेचिने त्यस्ता पुस्तक पुस्तकालयलाई दिएर ज्ञानको हस्तान्तरणमा सारथि बन्न सकिन्छ।
चार वर्षअघि शुरू भएको सानो पुस्तकालय अभियानमा एक हजार ५४३ व्यक्ति र संस्थाले हातेमालो गरिरहेका छन्। उन्नत, जागरुक र परोपकारी समाजमा सहयोगको विस्तार यसखाले साझेदारी अभियानबाट छिटो गर्न सकिन्छ। हामी पनि आफूले पढिसकेका पुस्तक, आफ्ना नानीहरूले खेलेका खेलौना, पुराना कपडा र घरायसी सामग्री तिनको आवश्यकता रहेका व्यक्तिलाई दिन सक्छौं। सहयोगी भावना र थोरै फराकिलो मनले पनि खुशी र ज्ञानको सञ्चार गराउन सक्छ।
सन् २०१४ की नोबेल शान्ति पुरस्कार विजेता तथा पाकिस्तानकी शैक्षिक अभियन्ता मलाला युसफजाईले पुस्तक र ज्ञानले ल्याउने परिवर्तनबारे भनेकी छिन्, ‘एउटा पुस्तक, एउटा कलम, एउटा बालक र एउटा शिक्षकले संसार बदल्न सक्छन्।’