निर्वाचन कार्यालयको विषयलाई लिएर प्रतिनिधि सभा बैठक अवरुद्ध
जिल्ला निर्वाचन कार्यालयको विषयलाई लिएर प्रतिपक्षी दलले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन्।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने व्यवस्था गरिएको थियो। त्यसलाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदले संसद्मा विरोध जनाएका थिए।
निर्वाचन आयोगले पनि यस विषयमा सबै राजनीतिक दलसँग छलफल गरेको थियो। जिल्ला निर्वाचन कार्यालयलाई यथावत् राख्ने सहमति भएको थियो। अर्थमन्त्री प्रकाशशरण महतले पनि यसलाई सच्याउने प्रतिबद्धता गरेका थिए।
तर, बजेट पारित हुने वेला नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले विरोध जनाएका हुन्। उनीहरूले निर्वाचन कार्यालय यथावत् राख्ने विषयलाई पनि सम्बोधन गर्नुपर्ने माग गरेका छन्।
प्रतिपक्षका सांसदले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगन गरेका छन्।