बजेटको समर्थन नगर्ने जनमत पार्टीको निर्णय
सत्तारूढ जनमत पार्टीको संसदीय दलको बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको समर्थन नगर्ने निर्णय गरेको छ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले गरीब र मधेशी जनताको हितमा नरहेका कारण बजेटलाई समर्थन नगर्ने निर्णय गरिएको बताए। “देशकै अर्थतन्त्र धराशायी भइराखेको वेलामा लूटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट कुनै पनि हालतमा स्वीकार्य हुँदैन,” उनले भने।
उनले जनमत पार्टीले मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन नगर्ने बताएका छन्। “जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन दिन सक्दैन। यो संसद्को गरिमाका लागि पनि अपरिहार्य छ,” अध्यक्ष राउतले भने।
डेढ महीना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधन विना समर्थन गरिदिने निरर्थक संसदीय अभ्यास रहेकाले जनमत पार्टीले समर्थन नगर्ने निर्णय गरिएको जनमत पार्टीले जनाएको छ।
अध्यक्ष राउतले भने, “आफूले बोलेको कुरामा ५–६ जना थप सांसद मात्रै अडिग रहन हिम्मत गर्ने हो भने यो जनतामारा बजेट पारित हुने नै थिएन, तर बोल्ने वेलामा एउटा अनि लोभलालचमा त्यही जनतामारा बजेटलाई समर्थन गरिदिने परिपाटी र अडान नभएका नेता-सांसदले गर्दा नै यो देश श्रापित भएको छ।”