कलाकारितामा ‘कमब्याक’ गर्दै धुर्मुस-सुन्तली
“रङ्गशाला निर्माणका लागि त अझै दिनदिनै खटेका छौं। तर, हिजोको जस्तै सबै कुरा त्यागेर सामाजिक काममा फर्किन सकिन्न।”
दुई दिनअघि ‘धुर्मुस सुन्तली’ यूट्यूब च्यानलमा ‘वेब मुभी’ भनेर एउटा भिडियो सार्वजनिक भयो। म त मर्छु कि क्या हो शीर्षकको उक्त वेब मुभीलाई कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले कलाकारितामा आफ्नो ‘कमब्याक’ का रूपमा हेरेका छन्।
“कलाकारितामा निरन्तरता थिएन। तर, मुख्य पेशा यही भएकाले अब चाहिं फर्किएको हो। अब फर्किने नै हो,” हिमालखबरसँगको कुराकानीमा कट्टेलले भने।
म त मर्छु कि क्या हो हालसालै खिचेर तयार भएको वेब मुभी भने होइन। ‘ओहो मुभिज’ अनलाइन प्लेटफर्ममा २०७८ भदौ ५ गते नै रिलिज भएको थियो। २०७९ भदौमा ओहो मुभिजसँगको सम्झौता सकिएपछि र डिजिटल राइट्स पनि आफैंसँग भएकाले दुई दिनअघि धुर्मुस सुन्तली यूट्यूब च्यानलमा उक्त वेब मुभी सार्वजनिक गरिएको हो।
१० महीनाअघि नै यूट्यूब लगायत माध्यममा सार्वजनिक गर्न सकिने अधिकार भए पनि दुई दिनअघि मात्र उक्त चलचित्र सार्वजनिक गर्नुले पनि कट्टेल अब भने कलाकारितामा फर्किन प्रतिबद्ध भएको देखिन्छ।
उता, कुञ्जना केही समययता ‘मै राम्री’ शृङ्खला निर्देशन गरिरहेकी छन्। धुर्मुस सुन्तली यूट्यूब च्यानलमै साप्ताहिक रूपमा अपलोड हुँदै आएको यस शृङ्खलाका २४ वटा अङ्क सार्वजनिक भइसकेका छन्।
“म त मर्छु कि क्या हो बनाउँदा कोरोना कहर थियो। दर्शक हलमा जाने सम्भावना थिएन। त्यसैले दर्शकलाई एक-दुई घण्टा भए पनि रमाइलो होस् भनेर वेब मुभीको अवधारणामा फिल्म बनाइएको हो,” कट्टेलले भने, “अब भने सिरिजका रूपमा सामाजिक मुद्दामा केन्द्रित चलचित्र बनाइरहन्छौं।”
तर, के अब धुर्मुस-सुन्तली जोडीले समाजसेवी छवि चाहिं चटक्कै छोड्न चाहेको हो त?
कट्टेलका अनुसार एकीकृत बस्ती निर्माण, वीर अस्पताल रङरोगन, रङ्गशाला निर्माण जस्ता काम समयको माग अनुसार थालिएको थियो। स्रोत सुनिश्चित भए यी र यस्ता कामलाई निरन्तरता दिइनेछ नै। तर, हिजोको जस्तै सबै कुरा त्यागेर सामाजिक काममै फर्किन भने अब सम्भव नरहेको उनले बताए।
“भूकम्प जाला र बस्ती बनाऔंला भनेर लागेका थिएनौं। तराईमा डुबान होला र बस्ती बनाऔंला भनेर लागेका थिएनौं। नेपालले क्रिकेटमा एकदिवसीय मान्यता पाउला र रङ्गशाला बनाऔंला भनेर पनि लागेका थिएनौं,” उनले भने, “त्यो समय र त्यो माहोल त्यस्तै थियो, तर अहिले फरक छ। रङ्गशाला निर्माणका लागि त अझै दिनदिनै खटेका छौं। तर, हिजोको जस्तै सबै कुरा त्यागेर सामाजिक काममा फर्किन सकिन्न।”
बीचमा धुर्मुस-सुन्तली जोडीले सेन्टी भाइरस चलचित्र पनि बनाएको थियो। तर, उक्त चलचित्र कलाकारिताको निरन्तरताभन्दा पनि रङ्गशाला निर्माणकै लागि थियो। अब चाहिं व्यावसायिक हिसाबले नै चलचित्र निर्माण गर्ने उनीहरूको योजना छ।
यसमा अर्को प्रश्न पनि उठ्न सक्छ- गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका क्रममा व्यापक आलोचना भएपछि उनीहरूले आलोचना कम हुने कलाकारिता क्षेत्र रोजेका त होइनन्?
कट्टेल भन्छन्, “हामीले जानेको चिज नै कलाकारिता हो। पेशा नै यही हो। त्यसैले कलाकारितामा फर्किएका हौं। आलोचना कम हुन्छ भनेर होइन।”
रङ्गशालाको काम पनि उनीहरूले छोडेका छैनन्। रङ्गशालालाई लिएर आफ्नो जिम्मेवारी अझै पूरा हुन बाँकी नै रहेको कट्टेल बताउँछन्।
“प्रारम्भिक चरणदेखि नै राज्यले गर्नुपर्छ भन्नेमा प्रस्ट थियौं। अहिले पनि त्यही सोच छ। साथै हामीले आफ्ना तर्फबाट पनि त्यागेका छैनौं। म दिनदिनै सिंहदरबार गइरहेको छु। काम अघि बढाउन अनुरोध गरिरहेको छु,” उनले भने “सरकारले निर्माणको काम अगाडि बढाएको दिन बल्ल हाम्रो जिम्मेवारी पूरा हुन्छ।”