अस्कर विजेता टम ह्याङ्क्सको उपन्यास लेखन यात्रा
ह्याङ्क्सले एन्ना फन्डर पनि आफूलाई मन पर्ने लेखिका भएको बताए। उनलाई पहिलो पाठक पत्र आफूले नै पठाएको पनि रहस्य खोले।
सन् २०१७ मा अनकमन टाइप कथासंग्रह प्रकाशन गरेका हलिउड कलाकार टम ह्याङ्क्सले आफ्नो दोस्रो किताब र पहिलो उपन्यास पनि एक महीनाअघि सार्वजनिक गरिसकेका छन्। ६६ वर्षे ह्याङ्क्सले लेखेको ४४८ पृष्ठको द मेकिङ अफ अनदर मेजर मोशन पिक्चर मास्टरपीस गत ९ मेमा प्रकाशित भएको थियो।
पहिलो कथासंग्रह प्रकाशित भए लगत्तै उनले उपन्यासको काम थालेका थिए। उपन्यास लेख्दा चलचित्रकर्ममा लाग्दाको आफ्नै अनुभवले प्रेरित भएको उनले बताए।
पुस्तक सक्नुपर्ने कुनै दबाब नभए पनि आफूले फुर्सदको सक्दो उपयोग गरेको उनले बताए। “मैले फिल्ममा काम गर्दा बचेको समयमा लेखें। म जहाँ भए पनि लेखिरहें। प्लनेमा हुँदा पनि लेखें। घरमा लेखें। लामो सप्ताहान्तमा पनि लेखें,” उनले भने।
अबका केही वर्ष चलचित्रको काममा व्यस्त हुने भएकाले किताब लेखनमा लाग्न नपाउने पनि उनले बताए।
ह्याङ्क्सको पहिलो किताब अनकमन टाइपमा पूर्वी यूरोपेली आप्रवासीको न्यूयोर्क आगमनदेखि पारपाचुकेपछि जीवन व्यवस्थित गर्ने प्रयासमा रहेकी महिलासम्मका कुल १७ वटा कथा छन्। यो कथासंग्रह बेलायतमा मात्र दुई लाख ३४ हजार प्रति बिक्री भएको थियो।
केही समयअघि लन्डन साहित्य महोत्सवमा ग्यावी उडसँगको अन्तरक्रियामा ह्याङ्क्सले अमेरिकी लेखक तथा फिल्मकर्मी नोरा एप्रोनले आफूलाई लेखनमा प्रोत्साहित गरेको बताएका थिए। वर्षौंअघि आफूले न्यूयोर्क टाइम्सका लागि लेखेको लेखको एउटा प्रति नोरालाई पठाउँदा उनी कैयौं सुझाव सहित आफूलाई भेट्न आएको ह्याङ्क्सले स्मरण गरेका थिए।
यस्तै, सन् १९९३ मा रोमान्टिक कमेडी विधाको चलचित्र स्लीपलेस इन सियाटलमा काम गर्दा पनि नोराले लेखनको लागि हौस्याएको ह्याङ्क्सले बताए। “नोराले त्यो वेला ‘यो तिमीले लेखेका हौ?’ भनेकी थिई। मैले चाहिं ‘हैन मैले रिहर्सलको वेला मिलाएको’ भनेको थिएँ। अनि उनले मलाई हौस्याउँदै ‘लेख्ने भनेको त्यही त हो नि’ भन्दै सारा मान्छेको अगाडि फुर्क्याइन्,” ह्याङ्क्सले भने।
ह्याङ्क्सका अनुसार उनीहरू सँगै काम गर्दा जहिले पनि लेखकीय दृष्टिकोणबाट छलफल गर्थे।
प्रसिद्ध अमेरिकी साप्ताहिक न्यूयोर्करमा लेखरचना छापिनुलाई सम्मानका दृष्टिले हेरिन्छ। धेरै साहित्यकारको लेखनको ढोका न्यूयोर्करबाटै खुल्ने गरेको छ। विश्वभरि छरिएका पाठक र सम्पादन तथा तथ्यजाँचका लागि कहलिएको न्यूयोर्करले साहित्यमा आधुनिकता भित्र्याउन पनि योगदान गरेको छ।
ह्याङ्क्सले पनि सन् २०१४ मा न्यूयोर्करमा एउटा कथा छापे। आफूले साहित्यिक लेखनको तालीम न्यूयोर्करबाटै लिएको पनि बताउँछन्।
आफू गैरआख्यानको पारखी भएको र विल ब्राइसनको लेखन मन पर्ने पनि उनले बताए। ब्राइसनको अ वाक अन द उड्स र अ शर्ट हिस्ट्री अफ नियर्ली एभ्रिथिङ धेरै घतलाग्दो पुस्तक भएको पनि उनले बताए।
ह्याङ्क्सले एन्ना फन्डर पनि आफूलाई मन पर्ने लेखिका भएको बताए। र, पहिलो पाठकपत्र नै आफूले फन्डरलाई पठाएको पनि रहस्य खोले।
यस्तै, इतिहास लेखक विलियम म्यानचेस्टरको लेखन पनि आफूलाई मन पर्ने र हायम पोटोक पनि अर्का मन पर्ने लेखक भएको ह्याङ्क्सले बताए। विलियम म्यानचेस्टरको अ वर्ल्ड लिट ओन्ली बाई फायर किताब आफूलाई धेरै मन परेको बताउँदै उक्त किताब आफूले लेख्न सकेको भए कस्तो हुन्थ्यो होला भन्ने पनि उनले सुनाए।
ह्याङ्क्सले वर्षौंसम्म मोबी डिक पढेको भनेर ढाँटेको पनि सुनाए। “मलाई मोबी डिक पढ्न एक जुग नै लाग्यो। मैले ५० वर्षको उमेरमा मात्र बल्ल त्यो पढ्न सकें,” उनले भने।
ह्याङ्क्स आफू कविताको भने पारखी नभएको बताउँछन्। पढ्नका लागि न्यूयोर्क पब्लिक लाइब्रेरी आफूलाई मन पर्ने ठाउँ भएको उनले बताए।
टाइपराइटर सङ्कलक
टम ह्याङ्क्स टाइपराइटरका शौखीन हुन्। उनीसँग करीब १६० वटा टाइपराइटर छन्। उनले ती टाइपराइटर विश्वका अनेकौं कुनाबाट सङ्कलन गरेका हुन्।
लन्डन साहित्य मेलामा उनले आफूलाई २० वटा जति टाइपराइटरले पुग्ने पनि बताएका थिए। “मेरो अन्त्येष्टि यी टाइपराइटरसँगै होस् भन्ने चाहन्नँ म। मलाई थाहा छैन, १४० वटा टाइपराइटर अटाउन कति वटा चिहान चाहिन्छ,” ह्याङ्क्सले भनेका थिए।
उनले किशोरावस्थादेखि नै टाइपराइटर सङ्कलन गर्न थालेका थिए। उनी किन टाइपराइटर सङ्कलन गर्छन् भने उनी आफूले गर्ने किनमेलको सूची, दैनिकीको सूची र आफ्ना टिपनटापन सबै टाइप गर्छन्। यद्यपि, टाइपराइटरमा कथा भने नलेखेको उनले बताए। “टाइपराइटरमा चार वा पाँच पेजभन्दा बढी लेख्न सक्दिनँ,” उनले भने ।
४५ वर्ष अभिनयमा बिताइसकेका ह्याङ्क्सले दुई पटक ‘अस्कर अवार्ड’ पनि जितेका छन्। कास्ट अवे, सेभिङ प्राइभेट रायन, फरेस्ट गम्प, टोय स्टोरी, क्याप्टेन फिलिप्स, बिग जस्ता गरी १०० भन्दा बढी चलचित्रमा उनले काम गरिसकेका छन्।
बीबीसी, टाइम र एट्लान्टिकमा प्रकाशित सामग्रीमा आधारित यो लेख महेश्वर आचार्यले तयार पारेका हुन्।