५० लाख दाइजो माग्ने बेहुला मण्डपबाटै पक्राउ
काठमाडौंमै मागे जति दाइजो नपाएको भन्दै विवाह रद्द गर्ने निर्णय गरेका बेहुलालाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरी दुहवी नगरपालिका- ६ स्थायी घर भएका र हाल काठमाडौं महानगरपालिका-१३, ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार रौनियार अमेरिकी ग्रीनकार्ड प्राप्त व्यक्ति हुन्।
काठमाडौं महानगरपालिका-९, नक्सालस्थित लिसरा रिसेप्शन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले विवाहमा आफूहरूले मागे जति दाइजो नदिएको र जन्तीलाई राम्रो स्वागत समेत नगरेको भन्दै विवाद गरेको थियो।
यस्तै, रौनियारले ५० लाख रुपैयाँ दाइजो नपाए विवाह रद्द गर्ने अडान लिएर बसेको र बेहुलीलाई समेत गाली बेइज्जती र हातपात गरेको अवस्थामा प्रहरी वृत्त मालीगाउँको प्रहरी अधिकृतको टोलीले पक्राउ गरेको हो।
उक्त विवाहमा बेहुला पक्षले विवाह खर्च बापत पटक पटक गरी २२ लाख रुपैयाँ लगिसकेको पनि प्रहरीले जनाएको छ।
पक्राउ परेका रौनियारमाथि विवाह सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।