बजेटमा असन्तुष्टि जनाउँदै वडाध्यक्षले दिए राजीनामा
उनले बजेट ल्याउँदा मेयरले उपेक्षा गरेको भन्दै गत वर्ष पनि फेसबूकमा राजीनामा दिने घोषणा गरेका थिए।
घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। बजेटको विषयमा असन्तुष्टि जनाउँदै वडाध्यक्ष शाहले मंगलबार मेयर नरुलाल चौधरी समक्ष राजीनामा बुझाएका हुन्।
उपमहानगरपालिकाको १३औं नगर सभा चलिरहेका वेला शाह राजीनामापत्र बुझाएर बाहिरिएका थिए। शाहले आफ्नो वडालाई मेयर चौधरीले बजेट दिने आश्वासन पटक पटक दिए पनि त्यो आश्वासनमै सीमित भएको भन्दै चर्को असन्तुष्टि व्यक्त गर्दै आएका थिए।
एमालेबाट निर्वाचित वडाध्यक्ष शाहले एमालेबाटै निर्वाचित मेयर चौधरीले बजेटमा उपेक्षा गर्दै आएकोले पदमा बस्नुभन्दा राजीनामा दिनु नै उपयुक्त हुने ठहर गरेको बताए।
उनले बजेट ल्याउँदा मेयरले उपेक्षा गरेको भन्दै गत वर्ष पनि फेसबूकमा राजीनामा दिने घोषणा गरेका थिए।
उनले टाेलबासी सबैलाई बोलाएर आफूले बजेट हाल्न नसकेको भन्दै राजीनामा दिनका लागि सल्लाह तथा सुझाव लिएका थिए।