बजेटमा बेथिति भएको भन्दै एमाले र राप्रपाद्वारा बागमती प्रदेश सभा बैठक अवरुद्ध
प्रदेश सरकारले ल्याएकोमध्ये २१ प्रतिशत बजेट मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृहजिल्ला धादिङ सहित नुवाकोट र सिन्धुपाल्चोकमा मात्र केन्द्रित रहेको भन्दै थपलियाले यस्तो बेथितिको अन्त्य जरुरी भएको पनि बताए।
बजेटमा बेथिति भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध गरेपछि बागमती प्रदेश सभाको बैठक अवरुद्ध भएको छ। प्रदेश सरकारले ल्याएको बजेट एकपक्षीय भएको र मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लामा बजेट केन्द्रित गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध पारिएको हो।
यस्तै, हुँदै नभएको वडामा बजेट विनियोजन गरेको, प्रदेश सरकारले बजेटलाई समावेशी ढङ्गबाट वितरण नगरेको, मन्त्रीहरूको मिलेमतोमा निजी गैरसरकारी संस्थालाई नामै तोकेर अनुदान वितरण गरिएको भन्दै एमाले र राप्रपाले बैठक अवरुद्ध गरेका हुन्।
बागमती प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेपछि १२ दिनपछि आजबाट छलफल शुरू भएको थियो। तर, छलफलको प्रारम्भमै एमाले सांसद जगन्नाथ थपलियाले आफ्नो भनाइ राखेपछि एमाले सांसदहरूले उठेर बैठक बहिष्कार गरेका थिए।
थपलियाले प्रदेश सरकारले ल्याएको बजेट किसान, युवा, निमुखा जनताको पक्षमा नरहेकाले यस्तो बजेट कुनै पनि हालतमा पास गर्न नदिने बताए। प्रदेश सरकारले ल्याएकोमध्ये २१ प्रतिशत बजेट मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृहजिल्ला धादिङ सहित नुवाकोट र सिन्धुपाल्चोकमा मात्र केन्द्रित रहेको भन्दै उनले यस्तो बेथितिको अन्त्य जरुरी भएको पनि बताए।
बजेटमा मकवानपुर, काभ्रे, रामेछाप र काठमाडौंका हुँदै नभएका वडामा बजेट विनियोजन भएकोप्रति पनि उनले सरकारले लज्जाजनक काम गरेको आरोप लगाए। बजेट पुनर्लेखन गरेर समावेशी बनाएर मात्र पास गर्न उनले प्रदेश सरकारलाई अनुरोध गरेका छन्।