मन्त्री किराती र महानिर्देशक अधिकारीबीचको विवाद सतहमा
प्राधिकरणलाई टुक्र्याएर सेवाप्रदायक र नियामक दुई फरक निकाय बनाउने विषयमा मन्त्री किराती र महानिर्देशक अधिकारीबीच शुरूदेखि नै विवाद छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेको छ। अधिकारीलाई पदीय जिम्मेवारी वहन गर्न नसकेको विषयमा सात दिनभित्र जवाफ पेश गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निर्देशन दिएका हुन्।
योसँगै मन्त्री किराती र महानिर्देशक अधिकारीबीचको विवाद सतहमा देखापरेको छ।
२०७८ माघमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले विवादका बीच अधिकारीलाई प्राधिकरणको महानिर्देशक बनाएका थिए। प्राधिकरणमा उपल्ला तहका कर्मचारीहरू हुँदाहुँदै अधिकारीलाई महानिर्देशक बनाएको भनी विरोध समेत भएको थियो।
प्राधिकरणलाई टुक्र्याएर सेवाप्रदायक र नियामक दुई फरक निकाय बनाउने विषयमा मन्त्री किराती र महानिर्देशक अधिकारीबीच शुरूदेखि नै विवाद छ। सरकारले प्राधिकरणलाई टुक्र्याएर सेवाप्रदायक र नियामक दुई फरक निकाय बनाउने नीति लिएको छ। आगामी आर्थिक वर्षको बजेटको बुँदा नम्बर १०१ मा पनि यस विषयमा उल्लेख छ।
किराती प्राधिकरणलाई टुक्र्याउनुपर्ने पक्षमा भएको उनले सार्वजनिक गरेको स्पष्टीकरण पत्रको मस्यौदामा छ। तर, अधिकारी भने सेवाप्रदायक र नियामक निकाय छुट्याउन नहुने पक्षमा उभिंदै आएका छन्। उनले यस विषयमा सार्वजनिक अभिव्यक्ति समेत दिंदै आएका छन्।
प्राधिकरणका कर्मचारीहरू पनि प्राधिकरणलाई टुक्र्याएर फरक दुई संस्था बनाउने प्रस्तावको विरोधमा छन्।
तर, मन्त्रालयले भने अधिकारीको उक्त कार्य प्राधिकरणका कर्मचारीको सेवा, शर्त र नियमावली विपरीत भएको भनी स्पष्टीकरण माग गरेको छ। “के कति कारणले तपाईंले आफ्नो पदीय जिम्मेवारी विपरीत सरकारको नीति विरुद्धका कार्य गर्नुभएको हो?” अधिकारीलाई सोधिएको स्पष्टीकरणमा उल्लेख छ।
प्राधिकरणलाई टुक्र्याएर सेवाप्रदायक र नियामक बनाउने विषय लामो समयदेखि छलफलमा छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले पनि सेवाप्रदायक र नियामक अलग बनाउन सुझाव दिंदै आएको छ।
त्यसैगरी, दुई वटा यात्रु सहितका विमान र तीन हेलिकोप्टर दुर्घटना हुँदा पनि उड्डयन सुरक्षालाई अधिकारीले सुधार गर्न नसकेको, भैरहवाको गौतम बुद्ध र पोखरा विमानस्थललाई सञ्चालनमा ल्याउन नसकेको तथा महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएका विभिन्न अनियमितताका घटनामा अधिकारीको जिम्मेवारी लगायत विषयमा प्रश्न उठाएर स्पष्टीकरण सोधिएको छ।
महानिर्देशक अधिकारीले भने नियम, कानून विपरीत र प्रक्रिया नपुर्याई मन्त्री किरातीले सोधको स्पष्टीकरणको जवाफ नदिने अभिव्यक्ति दिइसकेका छन्। यसले मन्त्री किराती र महानिर्देशक अधिकारीबीचको विवाद थप चर्कने सङ्केत गरेको छ।
त्यसो त प्राधिकरणका महानिर्देशक अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सुमधुर सम्बन्ध बनाएका कारण किरातीले उनलाई पदबाट मुक्त गर्न कठिन हुने जानकार एक स्रोतले बताएको छ। माओवादीका तर्फबाटै मन्त्री नियुक्त भएका किरातीको पछिल्लो समय प्रधानमन्त्री दाहालसँग सम्बन्ध बिग्रिएको उनका सार्वजनिक अभिव्यक्तिले देखाएका छन्।
प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा हवाई क्षेत्रमा महत्त्वपूर्ण सम्झौता हुन नसकेको भनी किरातीले आलोचना समेत गरेका थिए।