‘नेपालको स्वास्थ्य अनुसन्धान ससाना कुरामै चुकेको छ’
‘नेपाली समाजमा कुनै समस्या निम्तिन नदिन पूर्वतयारी गर्नुको साटो भइसकेपछि गरौंला नि भन्ने मानसिकता छ। कोभिड महामारीको सन्दर्भमा सरकारलाई पनि त्यही मानसिकताले गाँजेको देखियो।’
मेडिकल केमेस्ट्री एन्ड मोलिक्युलर फर्मालोजीमा विद्यावारिधि गरेका जीवाणु वैज्ञानिक सुदीप खड्का अमेरिकाको स्टानफोर्ड युनिभर्सिटीमा कार्यरत छन्। जर्जिया राज्यको राजधानी एट्लान्टास्थित इन्स्टिच्यूट फर बायोमेडिकल साइन्समा कार्यरत रहँदा उनी सहित ११ जना वैज्ञानिकको समूहले सन् २०१८ मा इबोला भाइरसको औषधि पत्ता लगाएको थियो। त्यस सम्बन्धी अनुसन्धान लेख एन्टिभाइरल रिसर्च जर्नलमा प्रकाशित भएको छ।
त्यहाँबाट अमेरिकाको मायो क्लिनिक हुँदै स्टानफोर्ड युनिभर्सिटी पुगेका खड्का सहितको टोली अहिले क्यान्सरको नयाँ औषधि बनाउन अनुसन्धानरत छ। खड्का नेपाल आएको अवसर पारेर हिमालखबरका लागि सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश:
इबोला विरुद्ध प्रारम्भिक औषधि पत्ता लगाउने वैज्ञानिकको समूहमा तपाईं पनि हुनुहुन्थ्यो। त्यहाँसम्मको यात्रा कसरी सम्भव भयो?
म एट्लान्टाको इन्स्टिच्यूट फर बायोमेडिकल साइन्समा अनुसन्धाताका रूपमा कार्यरत रहँदा त्यो अनुसन्धान भएको थियो। इबोला विरुद्ध केकस्तो औषधिले काम गर्छ भनेर अनुसन्धान गर्ने क्रममा हाम्रो समूहले केही औषधि पत्ता लगाएको थियो। संसारभर इबोलाको महामारी फैलिने आशङ्का भइरहेको परिवेशमा त्यो समाचारले आशाको सञ्चार गरेको थियो।
मलाई सानैदेखि वैज्ञानिकहरूप्रति आकर्षण थियो। भविष्यमा वैज्ञानिक नै बन्छु भन्ने सोचेको थिएँ। तर, बुबाआमाको सपना थियो डाक्टर बनाउने। उहाँहरूको इच्छा अनुरूप आईएस्सी सकेपछि काठमाडौं विश्वविद्यालयमा मेडिकल पढ्न प्रवेश परीक्षा दिएँ। नाम पनि निस्कियो। तर, मेडिकल पढ्न रुचि लागेन। बुबाआमालाई ‘अरूले बनाएको औषधि लेख्ने डाक्टर होइन, आफैं औषधि बनाउने वैज्ञानिक बन्छु’ भनेर सन् २००० मा अमेरिका गएँ। ‘सेल एन्ड मोलिक्युलर बायोलोजी’ मा स्नातक गरेर विद्यावारिधि गर्न पर्ड्यू युनिभर्सिटीमा भर्ना भएँ। त्यस क्रममा डेङ्गी र हेपाटाइटिस सीका बारेमा अध्ययन गरें। विद्यावारिधिको मेरो शोधपत्र यी भाइरसले मानव शरीरको प्रोटिनलाई कसरी आक्रमण गर्छन् भन्ने विषयमा थियो।
विद्यावारिधि सकेर केही समय ब्रेक लिन नेपाल आएको थिएँ। त्यही वेला मेरा बुबा हरिबहादुर खड्काको सवारी दुर्घटनामा मृत्यु भयो। बुबा सभासद् हुनुहुन्थ्यो। बुबा राजनीतिकर्मी भएकाले उहाँकै बाटो पहिल्याऊँ कि भन्ने लागेर केही समय यतै बसें। त्यस वेला नेपाली राजनीति र समाजलाई बुझ्ने मौका पाएँ। गाउँ गाउँमा गएर मानिसका समस्या र मनोविज्ञान बुझें। मानिसहरूले मलाई अमेरिकामा के गरेको भनेर सोध्थे। ‘भाइरसको प्रोटिनले मानिसमा के कस्तो असर गर्छ भनेर अनुसन्धान गरेको छु’ भन्दा उनीहरू ‘प्रोटिन त अन्डामा पनि हुन्छ होइन र!’ भन्थे। ती कुराले हामीले गर्ने काम र समाजको बुझाइमा अन्तर देखें। राजनीतिमा लाग्न पनि बुबाको पुस्ताबाट असहयोग भएपछि मेरो अगाडि दुई बाटा रहे– यहीं बसेर संघर्ष गर्ने या आफूले अध्ययन गरेको विषयमा थप काम गर्ने।
त्यही वेला एट्लान्टाको इन्स्टिच्यूट फर बायोमेडिकल साइन्सबाट इबोलाको औषधिमा अनुसन्धान गर्ने अवसर आयो। त्यसपछि आफ्नो देश र समाजमा जुनसुकै वेला फर्केर योगदान गर्न सकिन्छ भनेर फेरि अमेरिका गएँ।
इबोलाको औषधि पत्ता लगाउन कुन प्रक्रियाबाट अनुसन्धान गरिएको थियो। अनुसन्धान अहिले कुन चरणमा छ?
अमेरिकी सरकारले इबोलाको औषधि कसरी चाँडोभन्दा चाँडो पत्ता लगाउन सकिन्छ भनेर देशका विशिष्ट ल्याबलाई समाहित गरेर निकै ठूलो रकमको अनुदान दिएको थियो। हाम्रो ल्याबले हामीकहाँ पहिले नै उपलब्ध औषधिहरूमध्ये कुनै न कुनैले काम गर्छ कि भनेर परीक्षण गर्न थाल्यो। त्यही वेला जिका भाइरसको प्रकोप पनि देखियो।
हामीले एकै पटक इबोला र जिका विरुद्ध ती औषधि परीक्षण गर्दै गयौं। करीब तीन वर्षमा लाखौं औषधि परीक्षण गर्यौं। केही औषधिले काम गर्न सक्ने देखियो, तिनको थप परीक्षण गर्यौं। केही औषधिलाई थप परिमार्जन गरेपछि इबोला र जिका विरुद्ध काम गर्न सक्ने सङ्केत मिल्यो। अहिले ती औषधिको भण्डारण, सिरिन्जबाट दिने कि मुखबाट दिने भन्ने पक्षमा काम हुँदै छ।
क्लिनिकल ट्रायलको काम बाँकी छ?
क्लिनिकल ट्रायलमा जान त रोगको महामारी हुनुपर्छ। कतै न कतै रोग फैलिएको हुनुपर्छ, जसले गर्दा वास्तविक बिरामीमा त्यसले काम गर्छ/गर्दैन भनेर निर्क्योल गर्न सकियोस्।
इन्स्टिच्यूट फर बायोमेडिकल साइन्सबाट संसारकै प्रतिष्ठित मायो क्लिनिक हुँदै अहिले स्टानफोर्ड विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ। एकपछि अर्को राम्रो ठाउँमा काम गर्ने अवसर इबोलाको औषधिमा काम गरेको अनुभवले नै दिलाएको हो?
मायो क्लिनिकमा मानिसको प्रतिरोध क्षमतालाई इबोलाले कसरी निस्तेज पार्छ भन्ने अध्ययन भइरहेको थियो। इबोलामा काम गरिसकेको अनुभव भएकाले जर्जियाबाट मलाई काम गर्न बोलाइयो। हाम्रो प्रतिरोध क्षमताले कसरी काम गर्छ भन्ने बुझ्न सकियो भने भविष्यमा आफ्नै अनुसन्धान अघि बढाउन मद्दत मिल्छ भनेर म त्यहाँ गएँ। किनकि, एउटै संस्थामा बसेर सबै किसिमको अनुसन्धान गर्न सम्भव हुँदैन।
एट्लान्टामा रहँदा म अधिकांश समय विभिन्न भाइरसलाई कसरी निस्तेज पार्ने भनेर अनुसन्धान गरिरहेको थिएँ। त्यही वेला मायो क्लिनिकबाट भाइरसलाई प्रयोग गरेर क्यान्सर निवारण गर्ने अनुसन्धानमा सहभागी हुन अवसर आयो। जस्तो- कोभिडकै कुरा गर्ने हो भने यसको भाइरस फोक्सोमा गएर त्यसका कोषहरू तहसनहस गर्छ। एड्सले इम्युन सेललाई क्षति गर्छ।
यही प्रक्रियालाई अलिक फरक तरीकाले प्रयोग गर्ने हो भने फाइदा पनि हुन्छ। जस्तो कि, भाइरसलाई थोरै परिमार्जन गर्ने जसले मानिसको कोषलाई होइन क्यान्सरलाई नै आक्रमण गरोस्। हामीले मुसामा यो अनुसन्धानको सफल परीक्षण गरिसक्यौं। सर्जरी तथा किमो नगरी क्यान्सरका बिरामी निको पार्न सकिने सैद्धान्तिक रूपमा प्रमाणित भइसकेको छ।
मायो क्लिनिकमा काम गर्दै गर्दा मलाई स्टानफोर्ड युनिभर्सिटीबाट एकेडेमिक स्टाफका रूपमा काम गर्ने अवसर आयो। यहाँ हामीले भाइरसकै विरुद्ध एन्टिभाइरल बनाउने अनुसन्धान गरिरहेका छौं। अहिलेसम्म भाइरसका विरुद्ध जति पनि औषधि बनिरहेका छन, तिनले भाइरसको प्रोटिनलाई निस्तेज पार्छन्। तर, समस्या के छ भने ती औषधिले भाइरसका विभिन्न प्रोटिनलाई निस्तेज गर्न सक्दैनन्।
अहिले हामी दुई वटा औषधि प्रयोग गरेर अनुसन्धान गरिरहेका छौं। एउटा औषधि भाइरसको प्रोटिनसँग र अर्को हाम्रो शरीरभित्रै रहेको प्रोटिनलाई नष्ट गर्ने प्रणालीमा गएर टाँसिन्छ। यी दुई औषधिले साधारणतया शरीरले देख्न नसक्ने भाइरसको प्रोटिनलाई नष्ट पार्छन्। हामीले हेपाटाइटिस सी विरुद्ध सफल परीक्षण गरिसकेका छौं। यही प्रकिया मार्फत डेङ्गी, एड्स र श्वासप्रश्वास सम्बन्धी रोग विरुद्ध औषधि बनाउँदै छौं।
विद्यावारिधि गर्न पर्ड्यू युनिभर्सिटी जाँदाको शुरूआती अनुभव कस्तो थियो?
अमेरिका जानासाथ शुरूमा त सांस्कृतिक रूपमा आघात भए जस्तै भयो। त्यहाँ पढ्न आउने अधिकांश विद्यार्थी आफ्नो देशको विश्वविद्यालयका उत्कृष्ट विद्यार्थी हुन्थे। यता सबैभन्दा जान्ने भएर गएको विद्यार्थी पनि त्यहाँ औसत वा कम जान्ने हुने। पढाएका कुरा अरू साथीहरूले सबै बुझ्दा मैले किन बुझिनँ भन्ने जस्तो भएको थियो।
त्यसबाट मलाई के लाग्यो भने मानिस कुनै नयाँ ठाउँमा जाँदा मानसिक रूपमा बलियो हुनुपर्छ। कोही मान्छे वैज्ञानिक बन्छु भन्छ भने ऊ असफलताका लागि तयार हुनुपर्छ। अनेक प्रयत्न असफल हुँदा अन्तिममा एउटा प्रयास सफल हुन्छ। मलाई वैज्ञानिकका रूपमा स्थापित हुन लामो समय लाग्यो। तर, यो स्वाभाविक प्रक्रिया नै हो।
तपाईं अहिले कार्यरत स्टानफोर्ड युनिभर्सिटीमा काम गर्ने धेरै वैज्ञानिकको सपना हुन्छ, त्यहाँको माहोल कस्तो हुन्छ?
कहिलेकाहीं त म साँच्चै यहीं छु र भनेर रोमाञ्चित हुन्छु। किनकि विभिन्न विषयमा नोबेल पुरस्कार पाएका व्यक्तिहरूलाई वरिपरि देख्न पाइन्छ। उहाँहरूलाई देख्दा म पनि भोलि त्यही ठाउँमा पुग्न सक्छु भन्ने आत्मविश्वास पनि जाग्दो रहेछ।
तपाईंहरूले काम गर्ने बायोसेफ्टी लेभल फोर ल्याब अरू ल्याबभन्दा के कुराले भिन्न हो?
रोग विभिन्न प्रकारका हुन्छन्। जीवाणुबाट लाग्ने केही रोगको कुनै उपचार छैन। त्यो लाग्यो भने मान्छेको मृत्यु हुने निश्चित हुन्छ। त्यस प्रकारका जीवाणुसँग काम गर्न अति विशिष्ट किसिमको ल्याब डिजाइन गरिएको हुन्छ। त्यसका दुई कारण हुन्छन्। पहिलो, ती रोगका भाइरस निकै खतरनाक हुने भएकाले ल्याबमा थोरै गल्ती गरियो भने काम गर्नेको पनि ज्यान जान सक्छ।
दोस्रो, ती भाइरस खराब मानिसको हातमा पर्यो भने समाजमा महामारी फैलाउन प्रयोग हुन सक्छ। त्यसैले त्यस्ता भाइरसमा काम गर्न विशेष किसिमको ल्याब बनाइएको हुन्छ। यस्तो ल्याब संसारका सीमित ठाउँमा भएकाले त्यहाँ काम गर्ने वैज्ञानिक पनि कम छन्।
महामारीको वेला कृत्रिम भाइरस फैलाए भनेर हल्ला गर्नुको कारण यही हो?
ल्याबमा भाइरस उत्पादन गरिने होइन। समाजमा फैलिएको भाइरसको एउटा स्याम्पल ल्याएर थप उत्पादन गरिन्छ, ता कि धेरैभन्दा धेरै अनुसन्धान र परीक्षण गर्न सकियोस्। संसारमा हुँदै नभएको भाइरस बनाउने र त्यसलाई परिमार्जन गरेर थप खतरनाक बनाउन मिल्दैन।
संसारमा पहिले पनि भाइरसहरू उत्पत्ति हुन्थे र सीमित समुदायमा फैलिन्थे। पछिल्ला समय भेटिएका भाइरस किन तीव्र गतिमा संसारभर फैलिइरहेका छन्?
भाइरसको सम्बन्ध मानिस र प्राणीसँग हुन्छ। अहिले नयाँ भाइरस उत्पत्ति भएको भन्दा पनि हाम्रो प्रकृतिमै भएका भाइरस नयाँ ठाउँ, समुदाय र प्राणीमा भेटिन थालेका हुन्। मूलत: हामी सधैं भाइरसको समीपमै छौं। पहिले कुनै भाइरस कुनै ठाउँमा देखिन्थ्यो, त्यहीं असर पार्थ्यो र त्यहीं हराएर जान्थ्यो। त्यसपछि केही दशकसम्म देखिंदैनथ्यो। ४०/५० वर्षयता विश्वव्यापीकरण र यातायातको सुविधाका कारण मानिसहरू टाढा टाढासम्म सहजै आउजाउ गर्न सक्ने भएसँगै त्यस्ता भाइरसहरू विभिन्न ठाउँ पुगेका छन्। यसको जल्दोबल्दो उदाहरण कोभिड-१९ हो। कोभिड चीनमा देखिएको एक-दुई महीनामै संसारभर पुग्यो।
नयाँ ठाउँको यात्राका साथै नयाँ नयाँ प्राणीसँगको सम्बन्धले गर्दा पनि भाइरस देखिन थालेको छ। अहिले औद्योगिकीकरणको कारणले एकै ठाउँमा बंगुर, हाँस, कुखुरा लगायतका फार्म छ। जसले गर्दा तिनीहरूमा रहेका भाइरस एकबाट अर्कोमा सरेर मानिसमा सर्न सक्छन्।
वर्षौंदेखि वैज्ञानिकले भाइरसबारे अध्ययन-अनुसन्धान गरिरहे पनि यिनीहरूलाई नियन्त्रण गर्न किन नसकिएको होला?
नियन्त्रण गर्न सकिन्न। किनकि भाइरस सर्ने एउटै मात्र प्रक्रिया छैन। केही भाइरस खानाबाट सर्छन्, केही श्वासप्रश्वासबाट, केही यौन संसर्गबाट र केही भाइरस रगत लिने-दिने क्रममा सर्छन्। त्यस्तै, केही भाइरस बिरामी मानिसको नजिक जाँदा सर्छन्।
सम्पूर्ण भाइरसलाई रोक्न कुनै निश्चित प्रविधि र उपाय नै छैन। जस्तो कि मास्क लगाउँदा कोरोना जस्ता भाइरसबाट बच्न सकियो, तर त्यसले पेटमा लाग्ने भाइरस त रोक्ने भएन।
सैद्धान्तिक रूपमा यसरी यसरी भाइरस रोक्न सकिएला भन्न सकिन्छ, तर व्यवहारमा लागू गर्न सम्भव नै हुन्न। त्यसैले हामी मुख्य रूपमा कुनै पनि भाइरस महामारीका रूपमा फैलिन नसकोस् भन्नेमा केन्द्रित हुनुपर्छ।
भविष्यमा कुनै भाइरसले महामारी फैलाउनेछ भनेर वैज्ञानिकहरूलाई जानकारी हुन्छ?
अवश्य हुन्छ। कोभिड आउनुभन्दा धेरै अगाडि नै कोरोना प्रजातिको भाइरस आएर महामारी फैलाउन सक्छ भन्ने आकलन थियो। किनकि त्यसअघि नै सार्स र मार्स भन्ने यही प्रजातिका भाइरस देखिएका थिए। अहिले हामी इबोला, जिका र फ्लू भाइरसमा अनुसन्धान गरिरहेका छौं। ती भाइरसले पछि पनि महामारी ल्याउन सक्ने भएकाले नै काम गरिरहेका हौं।
अहिलेदेखि नै ती भाइरसबारे अनुसन्धान गरियो भने महामारी फैलिएको वेला खोप र औषधि दिन सजिलो हुन्छ। जस्तै- सार्स र मार्स भाइरस आउँदा अध्ययन-अनुसन्धान नगरेको भए कोभिड आएको एक वर्षमा भ्याक्सिन उत्पादन गर्नै सकिंदैनथ्यो।
कोभिड-१९ महामारी विरुद्ध लड्न पर्याप्त समय हुँदाहुँदै नेपाल चुक्यो। त्यसो हुनुमा कमजोरी कहाँनेर देख्नुहुन्छ?
नेपाली समाजमा कुनै समस्या निम्तिन नदिन पूर्वतयारी गर्नेभन्दा भइसकेपछि गरौंला नि भन्ने मानसिकता छ। कोभिड महामारीको सन्दर्भमा सरकारलाई त्यही मानसिकताले गाँज्यो। त्यस्तै, यस्ता महामारी नियन्त्रण गर्न पूर्वाधार जरुरी छ, जुन नेपालसँग छैन।
नेपाल बाहिर बसेर हेर्दा यहाँको स्वास्थ्य प्रणाली कस्तो देखिन्छ?
नेपालबाट बर्सेनि जुन दरमा दक्ष जनशक्ति विदेशिइरहेका छन्, त्यसले यहाँको प्रणालीमा समस्या छ भन्ने देखाउँछ। देशमा जतिसुकै राम्रो अस्पताल बनाए पनि जनशक्ति नै भएन भने बिरामीले उपचार पाउँदैनन्। जुनसुकै गाउँपालिकामा गएर हेरौं, त्यहाँका अस्पतालमा दक्ष जनशक्ति छैन। जिल्ला अस्पतालहरू एकाध डाक्टरको जिम्मामा छन्। आफ्नै ठाउँमा अस्पताल भएर पनि मानिस टाढाबाट धाएर काठमाडौं आउनुपर्ने बाध्यता छ।
यस्तो समस्या बढिरहँदा देशमा जनशक्ति कसरी टिकाउने भनेर सरकारले योजना बनाउनुपर्थ्यो। थप तलब र सुविधा दिएर भए पनि गाउँ गाउँमा चिकित्सक पुर्याउन सक्नुपर्थ्यो। तर, यो समस्या समाधान गर्न काम भएको देखिन्न।
नेपालमा भइरहेका स्वास्थ्य अनुसन्धानबारे कत्तिको जानकार हुनुहुन्छ?
कोभिड-१९ महामारीको वेला नेपालमा केही औषधि तथा भ्याक्सिनको क्लिनिकल ट्रायल भइरहेको थियो। क्लिनिकल ट्रायलको स्वीकृति दिए पनि पछि त्यसको अनुगमन राम्रो भएन। उदाहरणका लागि प्लाज्मा थेरापीको प्रभावकारिताबारे क्लिनिकल ट्रायल चलिरहँदा प्लाज्मा थेरापी नै सर्वमान्य उपचार हो भने जसरी धेरै बिरामीलाई उपचार गरियो। तर, त्यो प्रमाणीकरण भएकै थिएन।
त्यस वेला जहाँसुकै प्लाज्मा थेरापीबाट उपचार भइरहेको अनुसन्धानमा लागेकाहरूलाई थाहै थिएन, अनुगमनकारी निकाय पनि मौन बसे। क्लिनिकल ट्रायलको निर्देशिका विपरीत काम भएकाले त्यो उपचार कति प्रभावकारी भयो भन्ने यकीन गर्न सकिएन। क्लिनिकल ट्रायलको औषधिमा त यस्तो फितलो अनुसन्धान हुन्छ भने ल्याबमा गरिने अनुसन्धान कति विश्वसनीय होला भनेर प्रश्न उठाउने ठाउँ छ।
नेपालमा यति धेरै क्लिनिकल ट्रायल हुन्छन्, तर त्यो कति जनामा गरियो, त्यसको रिपोर्ट के आयो जस्ता अनुसन्धानको निचोड दिइन्न। धेरै विषय गुपचुप राखिन्छ। प्लाज्माको कुरा गर्दा कोभिड जस्तै महामारी आयो भने यसलाई स्वीकृति दिने या नदिने आधार के छ त? नेपालको स्वास्थ्य अनुसन्धान यस्ता ससाना कुरामा चुकेको छ।
नेपालको स्वास्थ्य क्षेत्रमा गर्न सकिने अनुसन्धान के के हुन सक्छन्?
नेपालमा विभिन्न समुदायमा देखिने रोग छन्। तीबारे धेरैभन्दा धेरै अनुसन्धान जरुरी छ। ती रोग कसरी सर्छन्, कसरी फैलिन्छन् र कसरी रोक्ने भन्ने विषयमा अनुसन्धान गरिनुपर्छ।