एकदिवसीय विश्वकपको खेलतालिका सार्वजनिक, भारत-पाकिस्तानको भिडन्त पनि तय
दुई टोलीको टुङ्गो लाग्न बाँकी भए पनि विश्वकपको खेलतालिका सार्वजनिक भएको छ। यस्तै, भारत र पाकिस्तानबीचको खेल १५ अक्टोबरमा हुनेछ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ। भारतमा यही वर्ष अक्टोबर-नोभेम्बरमा हुने विश्वकप प्रतियोगिताको पहिलो खेलमा इङ्ल्यान्ड र न्यूजिल्यान्ड भिड्नेछन्।
४६ दिनसम्म चल्ने प्रतियोगिता १० वटा रङ्गशालामा सञ्चालन हुनेछ। इङ्ल्यान्ड र न्यूजिल्यान्डबीचको खेल ५ अक्टोबरमा हुनेछ। अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो २:१५ बाट शुरू हुनेछ। यसअघि सन् २०१९ को विश्वकपको फाइनलमा यिनै दुई टोली उपाधिका लागि भिडेका थिए। उक्त खेल सुपरओभरमा इङ्ल्यान्डले जितेको थियो।
आयोजक राष्ट्र भारतको पहिलो खेल भने ८ अक्टोबरमा हुनेछ। भारतको पहिलो प्रतिद्वन्द्वी अस्ट्रेलिया हुनेछ।
यो संस्करणको विश्वकपमा खेल्ने दुई टोलीको अझै टुङ्गो लागेको छैन। हाल जिम्बावेमा छनोट प्रतियोगिता भइरहेकाले पूर्ण खेलतालिका सार्वजनिक भएको छैन।
यद्यपि क्रिकेट जगत्कै चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल भने तय भएको छ। यी दुई टोलीबीचको खेल १५ अक्टोबरमा हुनेछ। नरेन्द्र मोदी रङ्गशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो २:१५ मा हुनेछ।
एकदिवसीय विश्वकपमा यो भारत र पाकिस्तानबीचको आठौं भिडन्त हुनेछ। यसअघि सन् १९९२, १९९६, १९९९, २००३, २०११, २०१५ र २०१९ को विश्वकपमा यी दुई टोली भिडेका थिए। सन् २००७ को विश्वकपमा भने यी दुई टोली भिडेनन्।
हालसम्म विश्वकपमा भएका सबै भिडन्तमा भारत नै पाकिस्तानमाथि हावी भएको छ। टी-ट्वेन्टी विश्वकपमा भने सन् २०२१ मा एक पटक पाकिस्तानले भारतलाई हराएको छ।
यो संस्करणको विश्वकपको सेमिफाइनल खेल १५ र १६ नोभेम्बरमा हुनेछ। फाइनल खेल १९ नोभेम्बरमा हुनेछ।