आक्रामक रूपमा एलर्जी फैलाउने ‘कंग्रेस झार’
भारतमा हुने ४० प्रतिशत छाला सम्बन्धी एलर्जी ‘कंग्रेस झार’ को कारण हुने गरेको विभिन्न अध्ययनले देखाएका छन्। भारतमा सन् १९६८ बाट कंग्रेस झारका कारण देखापर्न थालेको छाला सम्बन्धी एलर्जीले ३५० जनालाई प्रभावित बनाएको थियो।
सन् १९१० तिर भारतले अमेरिकाबाट अन्न आयात गर्ने क्रममा गहुँसँग मिसिएर एउटा हानिकारक वनस्पतिको बीउ पनि सँगै भारतको पुणे शहर आइपुग्यो। भारतीय वनस्पतिविद्हरूले सो वनस्पति सन् १९५१ तिर मात्रै भारतमा फैलिएको चाल पाए।
त्यस वनस्पतिको फूल महात्मा गान्धी तथा भारतीय कंग्रेस पार्टीका नेताहरूले लगाउने चुच्चे टोपी जस्तो आकारको थियो। त्यसैले त्यो वनस्पतिलाई ‘कंग्रेस झार’ भनिएछ। यो कुरा सन् २००७ को विनोद र सेथुरारामको एक लेखमा उल्लेख छ।
जेठको पहिलो साता फेसबूक स्टोरीमा पङ्क्तिकारको एक मित्रले फूलको गुच्छाको तस्वीर हाले। सो गुच्छालाई आकर्षक बनाउन त्यहाँ ‘कंग्रेस झार’ पनि राखिएको थियो। फेसबूकको तस्वीरले मात्र यकीन नहुने हुँदा पङ्क्तिकार विराटनगरका केही फूल पसल चहारेको थियो। त्यसक्रममा उसै गरी गुच्छा बनाएर बेच्न राखिएको अवस्थामा ‘कंग्रेस झार’ देखापर्यो।
सूर्यमुखी फूलको परिवारमा पर्ने यो झारको वैज्ञानिक नाम ‘पार्थेनियम ह्यासटेरोफोरस’ हो। यसको मौलिक वासस्थान उष्णप्रदेशीय अमेरिकी क्षेत्र (दक्षिण अमेरिका) हो। तर, यो अन्य महादेश र मुलुकमा पुगेर त्यहाँको स्थानीय जैविक विविधता नष्ट गर्ने हानिकारक साम्राज्यवादी प्रजातिका रूपमा कुख्यात छ। त्यसैले कंग्रेस झारलाई ‘साम्राज्यवादी झार’ पनि भन्ने गरिन्छ।
यस्ता मिचाहा प्रजाति आफ्नो मौलिक वासस्थानबाट विभिन्न माध्यम हुँदै नयाँ स्थानमा पुग्छन् र त्यहाँका स्थानीय जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा धावा बोल्छन्। यस्तो मिचाहा प्रजातिमा जीव वा वनस्पति दुवै पर्छन्।
नेपालमा करीब २७ प्रजातिका मिचाहा वनस्पति पाइन्छन्। यस्ता वनस्पतिले स्थानीय वनस्पतिभन्दा छिटो र धेरै बीउ उत्पादन गर्न सक्छन्। स्थानीय वनस्पति सजिलै उम्रन नसक्ने बाँझो र बञ्जर स्थानमा पनि यी मिचाहा उम्रन सक्छन्। यिनीहरूले आफ्नो संख्या बढाएर, स्थानीय वनस्पतिलाई पूर्ण रूपमा ढाकेर, माटोमा विशेष किसिमको रसायन छोड्दा स्थानीय वनस्पति मर्छन्।
मिचाहा प्रजातिले प्राणीहरूमा स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्त्याउने, माटोको उर्वरता घटाउने, कृषिजन्य उत्पादनमा ह्रास ल्याउने, जङ्गलको प्राकृतिक पुनरुत्पादन रोक्ने, जङ्गली जनावरको वासस्थान बिगार्ने गर्छन्। यस्ता मिचाहा वनस्पतिमा लहरे वनमारा, कालो वनमारा, गाँजरे झार, कंग्रेस झार, वन फाँडा, जलकुम्भी आदि पर्छन्।
एलर्जीको कारण, निम्त्याउन सक्छ सङ्कट
नेपाल–भारतबीच खुला सीमा भएको र धेरै मात्रामा मालवाहक गाडी भारतबाट नेपालतर्फ आउने गरेकाले नेपालमा सन् १९६७ तिरै ‘कंग्रेस झार’ त्रिशूली उपत्यकामा आइसकेको थियो। उक्त समयमा आक्रामक रूपमा नफैलिसकेको र नयाँ झार भएका कारण मानिसहरूले यसलाई ‘बहुदल झार’ भन्ने गरेको भरतबाबु श्रेष्ठको लेखमा उल्लेख छ।
१९९० को दशकमा चाहिं यो झार नेपालमा अत्यधिक रूपमा फैलिन थाल्यो। हाल तराईदेखि पहाडसम्म करीब दुई हजार मिटरको उचाइमा यो झार जताततै पाइन्छ। वैशाख–जेठ महीनामा तराईका खाली जमीन र राजमार्गका छेउछाउमा सेताम्मे फुलेका पार्थेनियमका बोट देख्न सकिन्छ।
झट्ट हेर्दा तितेपातीको बोट जस्तै देखिने भएकाले यसलाई ‘पाती झार’ पनि भन्ने गरिन्छ। यस्तै, मसिना सेतो डल्लो आकारका फूल फुल्ने र सानोमा पात गाँजर जस्तो हुने भएकाले ‘कनिके फूल’ वा ‘गाँजरे झार’ पनि भन्ने चलन छ।
सुकेका केराउका दानाभन्दा सानो सेतो फूल फुल्ने यसको एउटा बिरुवाले १० हजारदेखि १५ हजारसम्म बीउ उत्पादन गर्छ। यसको पात र काण्डमा भएका मसिना झुस तथा यसमा पाइने ‘पर्थेनिन’ नामक हानिकारक रसायनका कारण मानिसहरूमा छाला सम्बन्धी गम्भीर एलर्जी हुने गर्दछ।
लोनकर र जोगको सन् १९७२ को ‘कन्ट्याक डर्मिटेटिस न्युजलेटर’ मा उल्लेख भए अनुसार भारतमा सन् १९६८ बाट कंग्रेस झारको कारण देखापर्न थालेको छाला सम्बन्धी एलर्जीले ३५० जना मानिसहरूलाई प्रभावित बनाएको थियो। हाल भारतमा हुने ४० प्रतिशत छाला सम्बन्धी एलर्जी ‘कंग्रेस झार’ को कारण हुने गरेको विभिन्न अध्ययनले देखाएका छन्।
यसअघि सन् १९३० मा सर्वप्रथम फ्रान्समा ‘कंग्रेस झार’ को कारण छाला सम्बन्धी एलर्जी देखापरेको थियो। सन् १९८९ मा वाशिङ्टन विश्वविद्यालयका वैज्ञानिक जेम्स वयेडनयर र अरूले गरेको एक अनुसन्धानमा पनि ‘कंग्रेस झार’ ले आक्रामक रूपमा छाला सम्बन्धी एलर्जी फैलाउने उल्लेख छ।
नेपालमा पनि अत्यधिक रूपमा यो वनस्पति फैलिएको स्थानमा बसोबास गर्ने मानिसहरूमा छाला सम्बन्धी एलर्जी देखापर्न थालेको भरतबाबु श्रेष्ठ र अरूको सन् २०१५ को एक शोध लेखमा उल्लेख छ।
यसका पराकणहरूले मानिसको श्वासप्रश्वास प्रणालीमा समस्या ल्याई दम, ज्वरो, रुघाखोकी जस्ता समस्या निम्त्याउँछ। साथै, घरपालुवा जनावरहरूमा पनि छाला सम्बन्धी रोग, पाचन प्रणालीको समस्या निम्त्याउँछ। यो झार खाएका भेडाहरूको दूधमा नराम्रो गन्ध आउने र तिनका दूध खान अयोग्य हुने एउटा अध्ययनको निष्कर्ष छ।
विश्वमा यो झारका बीउहरू प्रायः जनावरहरूको चरन प्रक्रियाबाट, अन्नका बीउसँग मिसिएर, गाईबस्तुका दाना/खानासँग मिसिएर फैलिएको पाइन्छ। अझ फूलको गुच्छामा हालेर बेचबिखन हुँदा यसका बीउ फैलन सहज हुन्छ।
अर्कातर्फ यो हानिकारक झार फूलको गुच्छा मार्फत आमउपभोगसम्म पुग्नु भनेको यसको असर कैयौं गुणाले बढ्ने सङ्केत हो। यसको उपभोग नरोकिए प्रकोप बढ्ने देखिन्छ।
नेपालमा पर्थेनियममा विविध अध्ययन भए पनि यसले मानव स्वास्थमा पारेको असर, विशेषगरी छाला सम्बन्धी रोगबारे पर्याप्त अध्ययन भएको छैन। त्यसैले यो झारबारे जनचेतना जगाउँदै यसको व्यवस्थापन सम्बन्धी कार्यक्रमहरू गर्नु आवश्यक देखिन्छ, नत्र यसले सङ्कट निम्त्याउन सक्छ।