राप्रपाले सबै नेतालाई स्थानीय तहमा खटायो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सबै नेतालाई भूगोलकेन्द्रित जिम्मेवारी प्रदान गरी ७५३ स्थानीय तहमा खटाउने निर्णय गरेको छ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश संयोजकको व्यवस्था गरेको केन्द्रीय सदस्य सरस्वती अधिकारीले बताइन्।
यससँगै सबै प्रदेश संयोजक तथा भूगोलकेन्द्रित नेताको जिम्मेवारीलाई ६ महीनाको समयसीमा निर्धारण गरेको छ। गत जेठमा सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयलाई पारित गरेको बैठकले भूगोलमा जाने नेताले वडा तहबाटै संगठन गठन, पुनर्गठन लगायत तोकिएका कामहरू सम्पन्न गर्नुपर्ने जिम्मेवारी प्रदान गरेको छ।
दुई दिनसम्म चलेको बैठकमा ‘राप्रपाः अब नवीन राप्रपा’ सम्बन्धी कार्ययोजनालाई थप व्याख्या तथा विस्तृत कार्यक्रमका रूपमा लागू गर्न आवश्यक छलफल गरिएको थियो। पार्टी गतिशील बनाउन कार्ययोजना ल्याइएको जनाइएको छ।
बैठकमा बजेट अधिवेशन, पार्टीको संगठन सुदृढीकरण, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीतिक परिस्थिति लगायत विषयमा पनि छलफल गरिएको थियो।