नेपाल-अमेरिका चलचित्र महोत्सवमा ‘राधा’ लाई उत्कृष्ट अवार्ड
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा द सेक्रेटस् अफ राधाले उत्कृष्ट पुरस्कार पाएको छ।
अमेरिकामा सम्पन्न महोत्सवमा सुवर्ण थापाद्वारा निर्देशित राधाले उत्कृष्ट फिचर कथानक चलचित्रको पुरस्कार पाएको हो। त्यस्तै, सुजित बिडारीले निर्देशन गरेको ऐना झ्यालको पुतली र पाकिस्तानी निर्देशक साइम सदिकले निर्देशन गरेको जोयलेन्डले मानार्थ पुरस्कार प्राप्त गरेका छन्।
उत्कृष्ट छोटो कथानक चलचित्र पुरस्कार सन्तोष दाहालको द मिराजले प्राप्त गरेको छ भने सूर्य शाहीद्वारा निर्देशत ह्वील्स अन द बसले मानार्थ पुरस्कार प्राप्त गरेको छ। उत्कृष्ट फिचर वृत्तचित्र पुरस्कार सनी लियुद्वारा निर्देशत पियोना म्यान र अमेरिकी निर्देशक न्यान्सी स्पेस्डेनको निर्देशन रहेको पासाङः द स्याडो अफ एभरेस्टले प्राप्त गरेको छ।
यस्तै, सचिन घिमिरेले निर्देशन गरेको वृत्तचित्र इन्टू द मिस्टले मानार्थ पुरस्कार प्राप्त गरेको छ। वृत्तचित्र विधातर्फ उत्कृष्ट वृत्तचित्रको पुरस्कार श्रीष कुँवरद्वारा निर्देशित मेरो बुबाले प्राप्त गरेको छ भने भारतका मिधुनजी बाबुको डु डक्स माइग्रेनले मानार्थ पुरस्कार पाएको छ।
महोत्सवले प्रदान गर्ने इम्पावरमेन्ट अवार्ड चलचित्र कमिङ आउट विद द हेल्प अफ टाइम मशिनले प्राप्त गरेको छ। फ्रीडम अफ एक्सप्रेशन अवार्ड ह्वेर द विन्डो डाईले पाएको छ।
महोत्सवमा ११ देशका ३७ वटा चलचित्र समावेश थिए। महोत्सवको छैटौं संस्करणमा नेपाली, दक्षिणएशियाली र अमेरिकाका साथै संसारका विभिन्न क्षेत्रका कलाकार, चलचित्रकर्मी र दर्शकबीच ज्ञानको आदानप्रदान गर्न सहयोग पुगेको नेपाल-अमेरिका चलचित्र समाजका अध्यक्ष पूर्णसिंह बराइलीले बताए।
बराइलीले भने, “चलचित्रले नेपाली समाज, सभ्यता र संस्कृतिलाई संसारभरि नै पुर्याउन सहयोग गरिरहेको छ भने सांस्कृतिक विविधता र समावेशिताको प्रवर्द्धनका लागि यो महोत्सवले सहयोग गरिरहेको छ।”