पाँच वर्ष यही गठबन्धनको सरकार चल्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताएका छन्।
धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान गठबन्धन नै पाँच वर्ष रहने बताएका हुन्।
प्रधानमन्त्री दाहालले भने, “अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने/नहुने चर्चा चल्ने गरेको छ। पाँच वर्ष यो गठबन्धन केही हुनेछैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ।”
अठारौं शताब्दीमा कार्ल मार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ भन्ने नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले अहिले दुनियाँले के भन्छ भन्नेभन्दा पनि राम्रो काममा आफूले ध्यान दिने गरेको बताए।
भारत भ्रमणका क्रममा आफूले राम्रो गरेको भए पनि देखी नसहने नकारात्मक प्रवृत्ति हावी भएको प्रधानमन्त्रीको भनाइ थियो। आफूले देश र जनताका पक्षमा राम्रो गर्दै जाने उनले बताए।