काठमाडौं महानगरले बन्द गर्यो डा. दिलजान मन्सुरको क्लिनिक
काठमाडौं महानगरपालिकाले काठमाडौंको मैतीदेवीस्थित ‘फूड डायबिटिज हर्ट (एफडीएच) क्लिनिक’ बन्द गरेको छ।
क्लिनिकले ‘लो कर्ब डाइट’ का नाममा गरेको उपचार पद्धतिले बिरामीलाई असर गरेको भन्दै महानगरमा उजुरी परेको थियो। उजुरी परेपछि त्यसको अध्ययन गर्ने क्रममा इन्टरनल मेडिसिन पढेको व्यक्तिले डाइट सम्बन्धी काम गरेको भेटिएको महानगरपालिका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडैलले बताए।
पौडेलका अनुसार क्लिनिक सञ्चालक डा. दिलजान मन्सुरले चीनबाट इन्टरनल मेडिसिनमा एमडी गरेको भए पनि डाइट सम्बन्धी अध्ययन गरेका छैनन्। डा. मन्सुरले दर्ता नगरी सञ्चालन गरेको पाइएपछि क्लिनिक बन्द गरिएको स्वास्थ्य विभाग प्रमुख पौडैलले बताए।
काठमाडौं महानगरले आफ्नो क्षेत्रमा सञ्चालन भइरहेका स्वास्थ्य संस्थाले दिने सेवाको गुणस्तर र दर्ताबारे अनुगमन गरिरहेको छ। “महानगरभित्रका स्वास्थ्य संस्थाले दिने सेवा र गुणस्तरबारे अरू पनि उजुरी परेका छन्, हामी अनुसन्धान गरिरहेका छौं,” पौडेलले भने।