प्रधानन्यायाधीश विरुद्ध उजुरी दिएका जिल्ला न्यायाधीशले दिए राजीनामा
जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन्।
प्रधानन्यायाधीशमा सिफारिश भएका हरिकृष्ण कार्की विरुद्ध संसदीय सुनुवाइ समितिमा भट्टराईले उजुरी दिएका थिए। भट्टराईले दिएको २६ पृष्ठको उजुरीमा कार्की प्रधानन्यायाधीशका लागि अयोग्य भएको दाबी गरिएको थियो।
आफूले अयोग्य भनेर उजुरी दिइसकेका व्यक्तिलाई नै सुनुवाइ समितिले प्रधानन्यायाधीश सदर गरेकाले उनी मातहत बसेर काम गर्न अप्ठ्यारो हुने भएकाले राजीनामा दिएको भट्टराईले बताए। उनले आजै प्रधानन्यायाधीशलाई राजीनामा बुझाएका हुन्।
आफूले राजीनामापत्रमा ‘अवैध र अयोग्य भनेको व्यक्तिको मातहत बसेर काम गर्न असहज भएको’ लेखे पनि प्रधानन्यायाधीश कार्कीको अनुरोधमा राजीनामापत्र परिमार्जन गरेको समेत उनले बताए। “न्यायाधीशले प्रधानन्यायाधीशलाई राजीनामा बुझाए हुन्छ। स्वीकृत गरिराख्नु पर्दैन। त्यसैले मैले मेरो पूर्व मान्यता अनुसार नै राजीनामाको कारण खुलाएको थिएँ,” भट्टराईले हिमालखबरसँग भने, “तर, कुराकानी हुँदा प्रधानन्यायाधीशले असन्तुष्टि जनाउनुभयो। राजीनामा स्वीकृत गर्न नपरे पनि प्रधानन्यायाधीशले प्रशासनलाई प्रक्रिया अगाडि बढाउन नभनी नहुने भएकाले मैले सामान्य भाषामा राजीनामा बुझाएँ।”
तत्कालको परिस्थितिमा काम गर्न असहज भएको भनेर राजीनामा दिएको भट्टराईले बताए। उनी जिल्ला अदालत, अर्घाखाँचीमा कार्यरत थिए।