कोशीका मुख्यमन्त्री भन्छन्- निकास निस्किएन भने मध्यावधिमा जानैपर्छ
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभाबाट निकास निस्किएन भने माघ-फागुनतिर मध्यावधिमा जानुपर्ने बताएका छन्।
नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि प्रदेश सभाकाे अधिवेशन बोलाइएको छ।
सरकारको सिफारिशमा प्रदेश प्रमुख परशुराम खापुङले असार १४ गते दिउँसो १ बजे विराटनगरस्थित कोशी प्रदेश सभा हलमा अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जनाएका छन्।
मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट अर्को सरकार बन्ने आधार नरहेको बताएका छन्। हिमालखबरका लागि अनिता भेटवालसँगको विशेष संवादमा मुख्यमन्त्री कार्कीले आफूले विश्वासको मत नपाए पनि अर्को सरकार गठन हुने कुनै आधार नरहेको दाबी गरेका हुन्।
अन्य दलले विश्वासको मत दिने उनको भनाइ छ। “केही दिनअघिसम्मको छलफलमा पनि उहाँहरूको समर्थन नै छ। फेरि पनि हुन्छ नै,” कार्कीले भने, “अहिले हामीसँग सहकार्य गर्नेमा ४६ सीट छ। अर्को गठबन्धनमा रहेका सबै जोडिंदा ४६ सीट नै हुन्छ। यस्तो अवस्थामा अर्को सरकार बन्ने र मैले विश्वासको मत नपाउने आधार छैन।”
यस्तो अवस्थामा मध्यावधिको सम्भावना रहने उनले खुलाएका छन्। “मध्यावधिमा जान हुँदैन भन्ने मेरो तर्क हो। चुनाव भएको एक वर्ष पनि भएको छैन। जनता र मुलुकलाई भार हुन्छ। राम्रो सन्देश जाँदैन,” मुख्यमन्त्री कार्कीले हिमालखबरसँग भने, “तर, निकास निस्किँदै निस्किएन भने बाध्यताले माघ-फागुनतिर मध्यावधिमा जानैपर्छ। राजनीतिमा कसैलाई निषेध मात्र गरिन्छ भने त्यहाँसम्म पुग्नुपर्ने हुन सक्छ।”
कोशी प्रदेश सभामा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४६ सांसद छन्। त्यस्तै, नेपाली कांग्रेस, माओवादी, जसपा, नेकपा (एकीकृत समाजवादी) सहितको विपक्षी गठबन्धनमा सभामुख बाहेक ४६ सीट छन्। सभामुख बाबुराम गौतम माओवादीबाट निर्वाचित भएका हुन्।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको विशेष अन्तर्वार्ता आज साँझ हिमालखबरमा प्रकाशित हुनेछ।