जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जुम्लामा गर्भवती तथा सुत्केरी महिलाका लागि हवाईसेवा निःशुल्क गरिएको छ।
दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ अनुसार गर्भवती तथा सुत्केरी महिलाका लागि हवाईसेवा निःशुल्क गरिएको हो ।
लगातार लामो प्रसव व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएको, गर्भमै बच्चाको मृत्यु भएको, गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएको, सुत्केरीपश्चात अत्यधिक रक्तश्राव भएको अवस्थामा पूर्णरूपमा निःशुल्क हवाईसेवामार्फत उद्धार गरिने प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन्।
“अब ग्रामीण क्षेत्रमा सुत्केरी तथा गर्भवती महिलालाई ज्यानको जोखिम परेको खबर आउनेबित्तिकै उद्धार गर्न सकिने अवस्था छ”, उनले भनिन् “दुर्गमका कुनै पनि जोखिमखालका गर्भवती सुत्केरी स्वास्थ्य उपचार अभावमा मृत्युका मुखमा पर्नबाट बच्न सफल हुनेछन् ।”
हवाई उद्धार गरिएकी महिलाको नागरिकताको प्रमाणपत्र, स्थानीय तहको हवाई उद्धार समन्वय समितिको बैठकको निर्णय र स्थानीय स्वास्थ्य संस्थाको प्रमुखसहित दुई स्वास्थ्यकर्मीको सिफारिसपत्र मन्त्रालयमा पेश गर्नुपर्ने प्रावधान छ ।
“हवाई उद्धार गरी तोकिएको पायक पर्ने अस्पतालमा पु¥याउन प्रत्येक वडामा हेलिप्याड बनेका छन्”, प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भनिन् ।