पीएसजी समर्थकसँगको सम्बन्धमा दरार आयो: मेस्सी
विश्वकप फाइनलमा फ्रान्सलाई पराजित गरेपछि भएका खेलमा मेस्सीलाई अधिकांश पीएसजी समर्थकले पटक पटक ‘बू’ (निन्दा) गरेका थिए। यद्यपि यही कारण आफूमाथि त्यस्तो व्यवहार भएको हुन सक्ने कुरामा आफू प्रस्ट नभएको मेस्सीले बताए।
अर्जेन्टिनी विश्वप्रसिद्ध खेलाडी लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का अधिकांश समर्थकले फरक व्यवहार गर्न थालेपछि उनीहरूसँगको सम्बन्धमा दरार आएको बताएका छन्। पीएसजीसँगको दुईवर्षे सम्झौता सकिएपछि केही साताअघि मेस्सीले अमेरिकी मेजर लिग सकरको क्लब इन्टर मियामी रोजिसकेका छन्।
गत सिजनको दोस्रो चरणमा, विशेषगरी विश्वकप फाइनलमा फ्रान्सलाई पराजित गरेपछिका खेलमा, मेस्सीलाई अधिकांश पीएसजी समर्थकले पटक पटक ‘बू’ (निन्दा) गरेका थिए। यसपछि पीएसजीले मेस्सीको निवास वरपर सुरक्षा बढाएको थियो।
मेस्सी बीचमा क्लबसँग अनुमति नलिई साउदी अरेबिया गएपछि उनलाई क्लबले निलम्बन समेत गरेको थियो। त्यसपछिका खेल र लिग वानको अन्तिम खेलमा उनलाई पेरिस समर्थकले बू गरेका थिए।
“शुरूमा त एकदमै तारीफयोग्य थियो। तर, पछि पेरिस समर्थक केही मानिसहरूले मलाई फरक व्यवहार गर्न थाले,” हालै ३६ वर्ष लागेका मेस्सीले बीइन स्पोर्टस्सँग भने, “मलाई लाग्छ, अहिले पनि ठूलो जमातले मलाई पहिले झैं राम्रो व्यवहार गर्छन्। तर, पेरिस समर्थक केही समूहसँगको सम्बन्धमा भने दरार आयो, जुन मेरोतर्फबाट नियतवश थिएन।”
विश्वकप फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै उपाधि जितेकाले आफूमाथि यस्तो व्यवहार भएको हुन सक्ने कुरामा भने आफू प्रस्ट नभएको उनले बताए।
“पहिला एम्बाप्पे र नेयमारसँग भए जस्तै भयो। मलाई थाहा छ, उनीहरूले त्यस्तै व्यवहार गर्छन्। म मलाई सम्मान गर्ने मानिसहरूलाई मात्र आफूसँग लैजान्छु,” मेस्सीले भने।
“मैले सबै उपलब्धि हासिल गरिसकें”
३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएपछि मेस्सीले आफ्नो ‘ट्रफी क्याबिनेट’ मा फूटबलको सर्वोच्च पुरस्कार पनि थपे। यसअघि नै त्यहाँ सात बलोन डी ओर, चार च्याम्पियन्स लिग, १० ला लिगा, एक कोपा अमेरिका र दुई लिग वानको ट्रफी थियो।
“मैले सबै उपलब्धि हासिल गरिसकें, केही पनि बाँकी छैन,” मेस्सीले सोही अन्तर्वार्तामा भने।
मेस्सीले टीमसँग हासिल गरेको उपलब्धिका अगाडि व्यक्तिगत उपलब्धि गौण रहने पनि बताए। “मैले राष्ट्रिय टीमसँग विश्वकप जित्ने सबैभन्दा महत्त्वपूर्ण लक्ष्य हासिल गरिसकें। जसरी जे जे भयो, त्यो असाधारण थियो,” उनले भने।
हालसम्म क्लब र राष्ट्रका लागि मेस्सीले ८०७ गोल गरिसकेका छन्। गत मे महीनामा उनले यूरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोल गरेको क्रिस्टियानो रोनाल्डोको कीर्तिमान भङ्ग गरेका थिए।