भीमदत्तनगरका पूर्व मेयर सहित १२ जना विरुद्ध तीन करोड भ्रष्टाचारको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्व मेयर सुरेन्द्रबहादुर विष्ट सहित १२ जना विरुद्ध नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्राकृतिक स्रोतबाट प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौता अनुसार प्राप्त गर्नुपर्ने आयमा निजी व्यवसायीसँग मिलेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। महाकाली नदीको नदीजन्य पदार्थको रोयल्टी शुल्क उठाउने ठेक्कामा मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक न्यूनतम कबोल अङ्क तोकेर बोलपत्र आह्वान गरेको र त्यसैलाई स्वीकृत गरेको पाइएको छ। राजस्व रकम कम निर्धारण गर्ने मनसाय राखी मिलेमतोमा बोलपत्र स्वीकृत गरी सम्झौता प्रक्रिया अगाडि बढाएको समेत आयोगको अध्ययनमा देखिएको छ।
त्यति वेला मेयर विष्टले तीन करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको पाइएकाले सोही बमोजिमको बिगो कायम गरी आज मुद्दा दायर गरेको हो। यस्तै, नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी विरुद्ध दुई करोड ११ लाख ६५ हजार ६०८ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ।
यसैगरी, भीमदत्त नगरपालिकाका तत्कालीन राजस्व छूटका लागि गठित कार्यदलका संयोजक तथा सदस्यहरू वडा नं १७ का तत्कालीन वडाध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखा अधिकृत नरबहादुर शाह तथा इन्जिनीयर हिमालयसिंह ऐर र गोविन्दराज उपाध्याय विरुद्ध पनि ८५ लाख ५६ हजार ३०९ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।
यस्तै, गलत विवरणका आधारमा राजस्वमा असर पार्ने कार्यमा संलग्न प्रतिवादीहरू हिमालयसिंह ऐर, हरिसिंह धामी र नरबहादुर शाहले सत्यतथ्य विवरण नदिई कबोल अङ्कमा गरेको सिफारिश विपरीत हुने गरी सम्झौता गराएको र साक्षी समेत बसेको पाइएको छ। आयोगले ऐर र उपाध्याय विरुद्ध दुई करोड ११ लाख ६५ हजार ६०८ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।
आयोगले भवानी कन्स्ट्रक्सनका सञ्चालकहरू केशवराज भट्ट, पुष्पराज भट्ट, कम्पनीका प्रतिनिधि दिवाकर भट्ट, ईश्वरीप्रसाद भट्टको हकदार खगेश्वरी भट्टका विरुद्ध तीन करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए।