वानएक्स-बेटको प्रचार गर्ने कलाकारले एक खेपमै लिन्थे डेढ लाख
वानएक्स-बेटको विज्ञापन प्रसारण गरे बापत शुरूमा कलाकारले प्रतिकार्यक्रम वा इपिसोड २० हजार लिने गरेकोमा पछिल्लो पटक त्यो दर डेढ लाख रुपैयाँ पुगेको थियो।
अनलाइन जुवा खेलाउने अवैध साइट वानएक्स-बेटको विज्ञापन गरेको आरोपमा पक्राउ परेका कलाकारले जनही कम्तीमा १५ लाख रुपैयाँ कमाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यीमध्ये ढेडुबूढा उपनामले परिचित सरोज घिमिरेले सबैभन्दा बढी ४० लाख रुपैयाँ बुझेको प्रहरीको दाबी छ।
उनीहरूले कोभिड-१९ महामारीमा लगाइएको लकडाउनको शुरूदेखि नै वानएक्स-बेटको प्रचार गरेको स्विकारेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीले बताए। २०७६ चैतदेखि नेपालमा लकडाउन शुरू भएको थियो। यस हिसाबले उनीहरूले चार वर्षदेखि अवैध कार्य गर्दै आएको देखिन्छ।
वानएक्स-बेटको प्रवर्द्धन गरेको आरोपमा प्रहरीले गत जेठ ३१ गते आठ जना कलाकारलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा घिमिरे सहित बल्छी धुर्वे भनिने मरिचमान श्रेष्ठ, राजु मास्टर भनिने राजु पौडेल, भटभटे माइला नामबाट परिचित बेगम नेपाली लगायत थिए।
अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य थापाका अनुसार वानएक्स-बेटको विज्ञापन प्रसारण गरे बापत यी कलाकारले शुरूमा प्रतिकार्यक्रम वा इपिसोड रु.२० हजार लिने गरेकोमा पछिल्लो पटक त्यो दर डेढ लाख रुपैयाँ पुगेको थियो।
“कार्यक्रममा ६/७ सेकेन्ड बोलेर विज्ञापन गरेको यति रकम लिने रहेछन्, यस हिसाबले उनीहरूले भनेभन्दा पनि बढी रकम कमाएको हाम्रो अनुमान छ,” उनले भने, “उनीहरूको आर्थिक कारोबार अझै केलाइरहेका छौं।”
विज्ञापन बापतको रकमको लेनदेन प्रत्यक्ष भेटेर तथा इसेवा, खल्ती जस्ता डिजिटल वालेट मार्फत हुने गरेको पनि थापाले बताए।
यी कलाकारको साँठगाँठ उनीहरू पक्राउ पर्नुभन्दा एक दिनअघि मात्र समातिएका दिनेश खड्काको समूहसँग समेत देखिएको प्रहरीको दाबी छ। खड्का सहित पाँच जनालाई प्रहरीले जेठ ३० मा पक्राउ गरेको थियो।
यो समूहले ७४ करोड रुपैयाँ कारोबार गरेको प्रहरीले फेला पारेको थियो। अनलाइनमा सट्टेबाजी खेल्न लगाउने यो समूहले ६३ वटा ब्यांक खाता खोली कारोबार गर्ने गरेको थियो। खड्काले नै यी कलाकारहरूलाई विज्ञापन बापतको रकम दिने गरेका थिए। “खड्काले केही पटक त भेटेर पनि रकम दिएका रहेछन्,” डीएसपी थापा भन्छन्।
पक्राउ परेका सबै कलाकार प्रहरी हिरासतमा छन्। उनीहरूलाई मुलुकी अपराध संहिता र विज्ञापन नियमन गर्ने ऐन अनुसार कारबाही हुन्छ। संहिताको दफा १२५ मा जुवा वा सट्टेबाजी खेल्न/खेलाउन नहुने व्यवस्था छ। यस्तो कसूर गर्नेलाई पहिलो पटक भए तीन महीनासम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना हुनेछ। दोस्रो पटकदेखि एक वर्षसम्म कैद वा ५० हजार जरिवाना र त्यसपछि पटकैपिच्छे थप तीन महीना जेल सजाय हुने व्यवस्था छ।
त्यस्तै, विज्ञापन नियमन गर्ने ऐनको दफा ५ मा विज्ञापन गर्न नहुने विषयको सूची छ। जसको उपदफा १ को खण्ड ख मा जुवा खेल्न, खेलाउन प्रोत्साहन गर्न नहुने उल्लेख छ। यो कानून उल्लंघन गर्नेलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
सरकारले २०७८ जेठमा वानएक्स-बेटलाई अवैध भन्दै यसको विज्ञापन गर्न रोक लगाएको थियो। विज्ञापन बोर्डले सूचना निकालेर यस्ता सामग्री प्रचार नगर्न भनेको थियो।