जसपाको विधान अधिवेशन शुरू
जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आइतबारदेखि काठमाडौंमा शुरू भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानको सभाहलमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष अशोक राईले अधिवेशनको उद्घाटन गरेका छन्। अधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको विधानको मस्यौदा यसै अधिवेशनमा पेश गरेर छलफल हुन लागेको छ।
यस अधिवेशनमा केन्द्रीय समितिका ४०६ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विशेष प्रदेश समिति, जिल्ला समिति, महानगर, भ्रातृ संगठन तथा केन्द्रीय समितिबाट मनोनीत हुने १० जना सहित ७६१ प्रतिनिधि सहभागी छन्।
सहभागी प्रतिनिधिलाई विभिन्न १० समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ। छलफल सकिएपछि विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।