जिप्रका काठमाडौंले अघि बढायो संशोधित ऐन अनुसार नागरिकता दिने प्रक्रिया
जिल्ला प्रशासन कार्यालय (जिप्रका), काठमाडौंले संशोधित ऐन अनुसार नागरिकता प्रदान गर्ने प्रक्रिया अघि बढाएको छ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीले असार १० मा स्थानीय तहहरूलाई संशोधित ऐन अनुसार नागरिकताको सिफारिश गर्न पत्र पठाएका हुन्। पत्रमा जन्मका आधारमा नागरिकता लिएका आमाबाबुका सन्तानलाई वंशजको नागरिकता लिन आवेदकका आमा र बाबु नेपाली नागरिक भएको र उनीहरू निरन्तर नेपालभित्रै रहेको प्रमाणित गरेर मात्रै सिफारिश गर्न भनिएको छ।
यसरी आवेदन दिन आमाबाबुको विवाह दर्ता, जग्गाधनी प्रमाणपत्र, जन्मदर्ता लगायत १२ प्रकारका कागजात आवश्यक पर्ने पत्रमा उल्लेख छ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले गत जेठ १७ गते प्रमाणीकरण गरेका थिए। प्रमाणीकरण विरुद्धको रिटमा अन्तरिम आदेश नदिएर सर्वोच्च अदालतले कार्यान्वयनको बाटो खोलिदिएपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता दिने प्रक्रिया अगाडि बढाएको हो।