बालेन विरुद्ध अदालतको अवहेलनाको रिट, आज सर्वोच्चमा सुनुवाइ
अदालतको अवहेलना गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेशी तोकिएको छ।
हिन्दू ग्रन्थ रामायणलाई आधार बनाएर निर्माण गरिएको भनिएको चलचित्र आदिपुरुषलाई लिएर मेयर साहले काठमाडौं महानगरमा भारतीय फिल्म चलाउन नदिने निर्णय गरेका थिए। त्यस विरुद्ध नेपाल चलचित्र संघले उच्च अदालत, पाटनमा रिट दायर गरेको थियो।
त्यसमाथि असार ७ गते सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न असार १२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। उच्च अदालतले भनेको थियो, ‘साथै उक्त मितिसम्म हिन्दी एवं अन्य चलचित्रहरू प्रदर्शन गर्न बाधा नगर्नू नगराउनू भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ ९१० (क) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’
यसमा मेयर साहले असन्तुष्टि जनाउँदै अदालतको आदेश नमान्ने प्रतिक्रिया दिएका थिए। उनले अदालतलाई समेत ‘भारतको गुलाम’ भनेका थिए।
मेयर साहले सामाजिक सञ्जालमा लेखेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनू भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ। यसका लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’
उनको यस अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले असार ८ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। त्यसमाथि आज न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ।