उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल, नयाँ कार्यसमिति निर्वाचित
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्।
परिसंघको २०औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो। यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधान अनुरूप स्वत: अध्यक्ष बनेका हुन्।
अग्रवाल डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै परिसंघको उपाध्यक्ष बनेका हुन्।
काठमाडौंमा जन्मिएका अग्रवाल तीन दशकदेखि उद्योग क्षेत्रमा रहेको परिसंघले विज्ञप्ति मार्फत जनाएको छ। आरएमसी ग्रूपका कार्यकारी निर्देशक अग्रवालको सिमेन्ट, स्टील, खाद्य लगायत व्यवसाय छन्। परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई शपथ गराउँदै पदभार हस्तान्तरण गरे।
परिसंघको उपाध्यक्षमा निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन भएका छन्। अमित मोर र भीम घिमिरे पहिलो पटक परिसंघका उपाध्यक्ष बनेका हुन्। यसैगरी परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दीप शारडा, गोकुल भण्डारी र छायाँ शर्मा मनोनीत भएका छन्।
राजधानीमा सम्पन्न वार्षिक साधारण सभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, विदुषी राणा, अजितविक्रम शाह, हेमराज ढकाल, आशिष अग्रवाल जजोडिया, मनीष खेम्का, द्विराज शर्मा (शिवाकोटी), ध्रुवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा, वीरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्।
यसैगरी लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दीप शारदा, मोहित केडिया, अमित मोर, अमितकुमार बेगानी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुणकुमार तोदी, राहुलकुमार अग्रवाल, शरदकुमार टिवडेवाला, विक्रम सिंघानिया, मिलनबाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपालकुमार अग्रवाल, आदित्य संघाई पनि राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित भएका छन्। राष्ट्रिय परिषद् सदस्यले उनीहरूमध्येबाट उपाध्यक्ष चयन गर्छन्।
साधारण सभामा विभिन्न ६ वटा विधामा अवार्ड प्रदान गरिएको थियो। सबैभन्दा सक्रिय उपाध्यक्षमा रोहित गुप्ता, सबैभन्दा सक्रिय राष्ट्रिय परिषद् सदस्यमा अनलराज भट्टराई, परिसंघले आयोजना गरेका कार्यक्रममध्ये महत्त्वपूर्ण कार्यक्रमका रूपमा वुमन लिडरशिप समिट, परिसंघ अन्तर्गतका समिति, परिषद्, मञ्चमध्येबाट सबैभन्दा सक्रिय समितिको अवार्ड पर्यटन समितिले प्राप्त गरेको छ। यसैगरी सबैभन्दा सक्रिय प्रदेश परिसंघको अवार्ड लुम्बिनी उद्योग परिसंघ र सर्वोत्कृष्ट कर्मचारीको अवार्ड उपनिर्देशक रवि प्रजापतिले प्राप्त गरे।