अरुन्धती रोयलाई यूरोपियन निबन्ध पुरस्कार
लेखक तथा अभियन्ता अरुन्धती रोयलाई ४५औं यूरोपियन निबन्ध पुरस्कार प्रदान गरिने भएको छ।
रोयको निबन्ध ‘आजादी’ को फ्रान्सेली अनुवादका लागि यो पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ। यो निबन्ध फ्रान्सको प्रसिद्ध प्रकाशन ग्यालिमाखमा प्रकाशित भएको थियो।
प्रि-यूरोपियन ड-एस्सेको निर्णायक मण्डलले सांसारिक संरचना र भाषासँगको यसको सम्बन्धलाई उन्नत बनाउने रचनालाई उजागर गर्न चाहेको जनाउँदै रोयलाई पुरस्कृत गरेको जनाएको छ।
“अरुन्धती रोयले निबन्धलाई प्रतिरोधको अस्त्रका रूपमा लिंदै फासीवादको विश्लेषण गरेर यसको संरचनाबारे लेख्छिन् जसले हाम्रो जीवनलाई अत्यधिक प्रभाव पारिरहेको छ। उनका निबन्धले धेरै मानिसलाई भरोसा प्रदान गरेको छ,” निर्णायक मण्डलले भनेको छ, “अरुन्धतीको साहित्यिक योगदानलाई पुरस्कृत गर्दै निर्णायक मण्डलले उनको राजनीतिक प्रतिबद्धतालाई पनि मनन गरेको छ।”
‘आजादी’ को अर्थ स्वतन्त्रता हुन्छ। “यो भारतको हिन्दू राष्ट्रवादको योजना विरुद्ध सडकमा लाखौं जनताले लगाइरहेको नारा पनि हो,” विज्ञप्तिमा भनिएको छ।
रोयले आफ्नो विचारोत्तेजक निबन्धहरूको शृङ्खला मार्फत विश्वमा व्याप्त अधिनायकवादले स्वतन्त्रतालाई पारिरहेको सङ्कुचनमाथि सोच्न बाध्य पारेको पनि जनाइएको छ।
आउँदो सेप्टेम्बर ११ मा फ्रान्समा आयोजना हुने कार्यक्रममा रोयले नागरिकता तथा पहिचान, वातावरण तथा विश्वव्यापीकरणका विषयमाथि बोल्नेछिन्। अर्को दिन, एक समारोहबीच उनलाई पुरस्कार प्रदान गरिनेछ जहाँ उनले मुख्य प्रवचन दिनेछिन्।
सन् १९६१ मा भारतको मेघालयमा जन्मिएकी रोयको पहिलो उपन्यास द गड अफ स्मल थिङले सन् १९९८ मा म्यान बूकर प्राइज पाएको थियो। उनी वातावरणीय तथा मानव अधिकारको मुद्दामा अभियन्ताका रूपमा पनि सक्रिय छिन्।
राजनीतिक विचारले प्रेरित गैरआख्यान लेखनका लागि चर्चित रोयले विश्वव्यापी पूँजीवादी परिदृश्यमा भारतले सामना गरिरहेको समस्याहरूमाथि कलम चलाउँदै आएकी छिन्। उनका केही गैरआख्यान पुस्तक पनि प्रकाशित छन्।
पहिलो उपन्यास प्रकाशन भएको २० वर्षमा उनको दोस्रो उपन्यास द मिनिस्ट्री अफ अटमोस्ट ह्यापिनेस सन् २०१७ मा प्रकाशित भएको थियो।