आजबाट जसपाको विधान अधिवेशन
आजबाट शुरू भएको जसपाको विधान अधिवेशनमा ७६१ प्रतिनिधि सहभागी हुनेछन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजबाट शुरू हुँदै छ। नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादीमा आयोजना हुने अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ।
पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अधिवेशनमा सहभागी प्रतिनिधिलाई १० समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ भने छलफल सकिएपछि विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको छ।
उनका अनुसार अधिवेशनमा केन्द्रीय समितिका ४०६ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विशेष प्रदेश समिति, जिल्ला समिति, महानगर, भ्रातृ संगठन तथा केन्द्रीय समितिबाट मनोनीत हुने १० जना सहित ७६१ प्रतिनिधि सहभागी हुनेछन्।
अधिवेशनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि शनिबार पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो। उक्त बैठकले अनुमोदन गरेको मस्यौदा आज विधान महाधिवेशनमा पेश हुनेछ।
जसपाको विधान अधिवेशन यसअघि गत चैत २७, २८ र २९ गते गर्ने निर्णय गरिएको भए पनि विभिन्न कारणले सरेको थियो।