सिचुवानले जित्यो ड्रागन बोट रेस उपाधि
पोखरामा सम्पन्न ‘नेपाल-चाइना ड्रागन बोट रेस’ प्रतियोगिताको उपाधि चीनको सिचुवानको टोलीले जितेको छ।
शनिबार भएको २०० र ५०० मिटरको फाइनल प्रतिस्पर्धामा चीनकै सिचुुवान ड्रागन बोट विजयी भएको हो। दुवै विधामा सिचुवानले नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सी (नारा ड्रागन बोटरेस)लाई पराजित गरेको छ।
उपाधि विजेता सिचुवानले दुवै विधामा पाँच लाख ५० हजार रुपैयाँ नगद सहित ट्रफी प्राप्त गरेको छ। त्यस्तै, उपविजेता बनेको नाराले दुवै विधामा तीन लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ।
चीनकोे युनान ड्रागन बोटले नेपालको एनआरसीए ड्रागन बोटलाई पराजित गर्दै दुवै विधामा तेस्रो स्थान हासिल गरेको छ। युनानले दुवै विधामा दुई लाख रुपैयाँ नगद पुरस्कार पाएको छ।
प्रतियोगितामा नेपाल र चीनका चार-चार टोलीले प्रस्पिर्धा गरेका थिए। पहिलो चरणको खेलबाट चार टोली बाहिरिएका थिए। प्रतियोगितामा सहभागी सबै टोलीलाई एक-एक लाख रुपैयाँ प्रदान गरिएको छ।
विजेता टोलीलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, पर्यटन राज्यमन्त्री सुशीला श्रीपाइली ठकुरी, पोखरा महानगरपालिका मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङ लगायतले पुरस्कार प्रदान गरेका छन्।
नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशन फेस्टिभलको सहआयोजनामा ‘नेपाल-चाइना ड्रागन बोट रेस फेस्टिभल’ सञ्चालन भएको थियो।
चीनको करीब दुई हजार वर्ष पुरानो मौलिक पर्व ‘ड्रागन बोट रेस फेस्टिभल’ दक्षिणएशियामै नेपालमा पहिलो पटक आयोजना गरिएको हो। बोट रेसका लागि चीनबाट केरुङ नाका हुँदै फाइबारका विशेष डुङ्गा ल्याइएका थिए। आठ वटै डुङ्गा चीनले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ।
यो महोत्सव अर्को वर्ष पनि आयोजना गरिने भएको छ।