प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणाली नराखौं: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले निर्वाचन प्रणाली बदल्नुपर्ने वेला भएको बताएका छन्। संसद्लाई समावेशी बनाउन अहिलेको समानुपातिक निर्वाचन प्रणाली अपनाइएको उनको भनाइ थियो।
अन्य उपायले पनि संसद्लाई समावेशी बनाउन सकिने उनको भनाइ थियो। “संसद्लाई समावेशी बनाउन यस्तो निर्वाचन प्रणाली बनाएका हौं,” थापाले भने, “संसद्लाई समावेशी बनाऔं, निर्वाचन प्रणाली बदलौं।”
उनले प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणाली राख्न नहुने जिकिर गरे। “प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणाली नराखौं,” थापाले भने, “१६५ निर्वाचन क्षेत्रमध्ये केही क्षेत्र महिलाका लागि रिजर्भ गरौं। त्यसमा सबै पार्टीका महिला मात्रै लड्नुहुन्छ।”
अहिलेको निर्वाचन प्रणालीका कारण गठबन्धन बनेको उनको भनाइ थियो। काम नलाग्ने भयो भने गठबन्धन बदलिने उनको भनाइ थियो। “हामी एउटा गठबन्धनमा छौं। गठबन्धन चित्त बुझेन, ठीक ढङ्गले गएन भने बदलिन्छ,” थापाले भने।
समाजवादी मोर्चामा एमाले थपिए पनि कुनै चिन्ता गर्न नहुने बताए। सबै मिलेर एउटा पार्टी बने पनि कांग्रेस एक्लै लड्न सक्ने उनको भनाइ थियो।