साफ च्याम्पियनशिपमा भारतसँग भिड्दै नेपाल
साफ च्याम्पियनशिप फूटबल प्रतियोगिता अन्तर्गत आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्न लागेको छ।
यस प्रतियोगितामा नेपालको दोस्रो खेल हो। यसअघि कुवेतसँग भएको खेलमा ३-१ गोल अन्तरले पराजित भएको थियो।
नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र कुवेत सहित चार टोली छन्। चारै टोलीले एक-एक खेल खेल्दा भारत र कुवेत तीन-तीन अङ्क सहित शीर्ष दुई स्थानमा छन्।
नेपाल र पाकिस्तानले अङ्क जोड्न सकेका छैनन्। नेपालले आजको खेल जितेमा सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहनेछ।
अहिलेसम्मको प्रतिस्पर्धामा भारत नै बलियो देखिएको छ। नेपाल र भारतबीच भएका २४ खेलमा नेपालले तीन खेल जितेको छ भने १७ खेलमा हार बेहोरेको छ। त्यस्तै, चार खेल बराबरीमा टुङ्गिएका छन्।
भारतको भूमिमा भने नेपालले अहिलेसम्म जित हासिल गर्न सकेको छैन। आज नेपालका लागि इतिहास रच्ने मौका छ।
ब्याङ्लोरस्थित श्री कान्तिरभा रङ्गशालामा आज साँझ ७ः४५ बजे नेपाल र भारतको खेल प्रतिस्पर्धा हुनेछ।