पहिरोमा हराएका आफन्त नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार
पहिरोमा हराएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना एक सातासम्म पनि नभेटिएपछि आफन्तले कुशको शव बनाएर दाहसंस्कार गरेका छन्।
असार २ गते राति गएको पहिरोमा परी मेहेलेको भालुखोपकी ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, ३० वर्षीया सन्ध्या र नौ वर्षीय प्रज्वल हराएका थिए। स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खोजबिन गरेका थिए।
एक सातासम्म पनि नभेटिएपछि तीनै जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको आफन्तजनले बताए। तीनै जना एकै परिवारका हुन्।
त्यस्तै, संखुवासभाको हेवा, पिलुवा र सभा खोलामा आएको बाढीले हराएका २० जनाको खोजी जारी छ। सुरक्षाकर्मी र स्थानीय बासिन्दाले बाढीले बगाएको लेदोमा खोजबिन गरिरहेका छन्।
उनीहरूको खोजीमा नेपाल प्रहरीको तालीमप्राप्त कुकुर पनि प्रयोग गरिएको छ। एक सातासम्म खोजबिनमा कुनै प्रगति नभएपछि तालीमप्राप्त कुुकुरको प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ।
असार २ गते पूर्वी पहाडका चार जिल्लामा आएको बाढी र पहिरोमा परी आठ जनाको मृत्यु भएको छ भने २३ जना हराइरहेका छन्।