नेपाल र नेदरल्यान्डस् प्रतिस्पर्धा गर्दै, ‘सुपर-६’मा पुग्ने सम्भावना कति?
विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ।
जिम्बावेको हरारे रङ्गशालामा नेपालले लिग चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्न लागेको हो। यसअघिका तीन खेलमध्ये एक जित र दुई हार बेहोरेको नेपालले आजको खेल जितेमा अर्को चरण अर्थात ‘सुपर-६’ पुग्ने सम्भावना जीवित रहनेछ।
नेपाल रहेको समूह ‘ए’ मा वेस्ट इन्डिज दुई खेलमा चार अङ्क जोडेर अङ्कतालिकाको शीर्षस्थानमा छ। त्यस्तै, दुई खेलमा चार अङ्क जोडेको जिम्बावे रनरेटका आधारमा दोस्रो स्थानमा छ।
दुई खेलमा दुई अङ्क बटुलेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ भने तीन खेलमा दुई अङ्क जोडेको नेपाल रनरेटका आधारमा चौथो स्थानमा छ। अङ्कतालिकाको पुछारमा रहेको अमेरिकाले तीनै खेल हारेकाले अङ्क जोड्न सकेको छैन।
अमेरिकाको अर्को चरणमा पुग्ने सम्भावना सकिएको छ। वेस्ट इन्डिज र जिम्बावेमध्ये एक टोली अर्को चरणमा पुग्ने पक्का भइसकेको छ। आज दुवै टोली प्रतिस्पर्धा गर्दै छन्। जित्ने टोली अर्को चरणमा पुग्नेछ।
आज हारे पनि जिम्बावेको अर्को चरणमा पुग्ने लगभग पक्का नै छ। किनकि लिग चरणको आफ्नो अन्तिम खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। उसले अमेरिकालाई जित्ने सम्भावना बलियो छ।
तेस्रो स्थानमा रहेर अर्को चरणमा पुग्न नेपाल र नेदरल्यान्ड्स नै प्रतिस्पर्धामा छन्। नेपालले आजको खेल जितेमा अर्को चरणमा पुग्ने सम्भावना बलियो हुनेछ। किनकि नेदरल्यान्ड्सको अन्तिम खेल बलियो टोली वेस्ट इन्डिजसँग छ।
नेपाल र नेदरल्यान्ड्सबीच पाँच वर्षअघि दुई खेल भएका थिए। जसमा दुवैले एक-एक खेल जितेका थिए।
दुवै टोलीले अन्य देशसँग खेलका पछिल्ला पाँच खेलमा भने नेपाल नै बलियो देखिन्छ। नेदरल्यान्ड्सले एक खेल मात्रै जितेको छ भने चार खेल हारेको छ।
नेपालले भने पछिल्ला पाँच खेलमा तीन खेल जितेको भने दुई खेलमा हार बेहोरेको छ। नेपाल र नेदरल्यान्ड्सको खेल आज दिउँसो १२ः४५ बजे जिम्बावेको हारेर रङ्गशालामा शुरू हुनेछ।