आदिपुरुष: बरालिएको सौम्य शक्ति
रामायणमा आधारित भएर बनाइए पनि पौराणिक आख्यानको मर्ममा आघात पारेको भन्दै चर्को आलोचना भोगेको आदिपुरुष सिनेमा संसारमा एउटा दुर्घटना बनेको देखियो।
सन् १९९० को दशकमा हार्वर्ड विश्वविद्यालयका प्राध्यापक जोसेफ सामुएल नाईले प्रयोगमा ल्याएको शब्दावली हो, ‘सफ्ट पावर’ (सौम्य शक्ति)। ‘हार्ड पावर’ (शौर्य शक्ति) अर्थात् सैन्य शक्ति, आर्थिक क्षमता र राजनीतिक शक्तिको साटो सांस्कृतिक-प्राज्ञिक हैसियत, भौगोलिक र प्राकृतिक विशेषता, सद्भाव आदिबाट विश्वमञ्चमा प्रभाव पार्न र स्थापित हुन सकिने शान्तिकामी क्षमताका निम्ति यो शब्दावली प्रयोग गरिएको थियो।
कुनै राष्ट्रले आफ्नो स्वार्थ बमोजिम विश्वव्यापी रूपमा सांस्कृतिक, वैचारिक वा अन्य केही प्रभाव फैलाउन उसको सौम्य शक्ति उपयोग गर्छ। राज्यले सौम्य शक्ति प्रयोग गर्दा सांस्कृतिक आदानप्रदान, शिक्षा, मिडिया, कूटनीति, कला सहित विभिन्न माध्यमलाई औजार बनाउँछ। यसबाट उसको प्रचार त हुन्छ नै, त्यसबाट उसको प्रभाव बढ्नुका साथै प्रत्यक्ष-अप्रत्यक्ष रूपमा आर्थिक लाभ पनि हुन्छ।
हिमाल, जैविक विविधता, कलाकृति, पशुपतिनाथ मन्दिर, बुद्ध जन्मभूमि र बौद्ध परम्परा आदि नेपालका सौम्य शक्ति हुन्। भारतले विश्वमञ्चमा आफ्नो हैसियत बढाउन सौम्य शक्तिका क्रिकेट, कला, धर्म-संस्कृतिलाई माध्यम बनाउँदै आएको छ। वेद, रामायण, महाभारत, पुराण (धेरैजसो) जस्ता ग्रन्थ भारतमै रचिए। भारतका प्रायः शासकहरूले हिन्दू धर्म, संस्कृति र परम्पराको विस्तारमा जोड दिंदै आएका छन्। रामायण, महाभारत जस्ता धार्मिक टीभी सिरियल र धर्म-संस्कृतिमा आधारित फिल्महरू पनि धेरै बनाइएका छन्।
यसैको पछिल्लो कडी हो, रामायणको कथामा निर्मित भारतीय फिल्म आदिपुरुष। तर, यसका कतिपय संवाद र प्रस्तुतिले रामायणको मर्मलाई नै आघात गरेको भन्दै भारतभित्रै तीव्र आलोचना र विरोध भइरहेको छ।
पौराणिक आख्यान
रामायण दक्षिणएशियाली हिन्दू समाजमा शताब्दीयौंंदेखि लोककथाको हिस्सा थियो। रामायण धेरै वटा रहेकोमा सबैभन्दा पुरानो वाल्मीकीय रामायण हो। संस्कृत भाषाका आदिकवि वाल्मीकिरचित यो महाकाव्यलाई संसारकै पहिलो महाकाव्य पनि मानिन्छ। हिन्दू धर्ममा सांस्कृतिक र धार्मिक महत्व राख्ने यो पौराणिक आख्यान नेपालमा पनि उत्तिकै लोकप्रिय छ। भानुभक्त आचार्यले सरल नेपालीमा अनुवाद गरेपछि रामायणको स्वाद घरघर छिरेको हो।
प्राचीन कोशल राज्यका राजकुमार रामको गाथा रहेको रामायणको पौराणिक कथा भारतीय उपमहाद्वीपको सामूहिक चेतनाको अभिन्न अङ्ग जस्तो भएर जनजनको मनमा बसेको छ। हामीकहाँ यसलाई सत्य घटनामा आधारित मान्नेहरू पनि छन्। यसलाई सत्य होइन भनेर शतप्रतिशत ठोकुवा गर्न पनि सकिंदैन। किनभने प्राचीन मिथिला राज्यको राजधानी जनकपुर छँदै छ। जानकी अर्थात् सीता मिथिलाका राजा जनककी छोरी हुन् भनेर रामायणमा लेखिएको छ।
उता, कोशल राज्यको राजधानी अयोध्या थियो। भारतको उत्तर प्रदेशमा सरयु नदी किनारमा अवस्थित छ यो।
रामको बाल्यकाल, सीतासँग विवाह, अयोध्या छाडेर १४ वर्षको वनवास, सीताहरण गर्ने रावणसँग युद्ध गरी लङ्का विजय, अन्ततः अयोध्या फिर्ता भएको रामायणको कथामा चलचित्र र टीभी सिरियल धेरै वटा बनेका छन्। आदिपुरुषमा पनि राम-सीताकै कथा समावेश छ।
रामायण वाल्मीकिले लेख्नुअघि पनि भारतमा कथाका रूपमा वाचन गरिने देवीप्रसाद सुवेदी लिखित वाल्मीकि र व्यासः तुलनात्मक अनुशीलन पुस्तक (२०७४ साल) मा उल्लेख छ। वाल्मीकि रामायण पहिले ६ अध्याय (काण्ड) मा लेखिएको थियो (बाल, अयोध्या, अरण्य, किष्किन्धा, सुन्दर र युद्ध काण्ड)। वाल्मीकिपछि उनले लेखेको रामायणमा उत्तरकाण्ड पनि समावेश गरियो। यस्तै, पछि वाल्मीकि रामायणको बालकाण्डमा अत्यधिक रूपमा प्रसङ्ग थपियो। यति मात्र होइन, बालकाण्ड र उत्तरकाण्डमा रामलाई विष्णु भगवान्को अवतारका रूपमा प्रस्तुत गरियो।
रामायणका विविध संस्करण
रामायणका करीब ३०० संस्करण अस्तित्वमा रहेको बताइन्छ। तमिल कवि कम्बनले १२औं शताब्दीमा लेखेको कम्बन रामायण दक्षिण भारतमा लोकप्रिय छ। यसलाई पहिले रामअवतारम् भनिन्थ्यो। कम्बन रामायणमा वाल्मीकीय रामायणमा थपिएको उत्तरकाण्ड बाहेकका ६ अध्याय छन्।
उत्तर-पश्चिम तथा मध्य भारत र नेपालमा प्रचलित रामायण चाहिं १६औं शताब्दीमा तुल्सीदासले अबधी भाषामा लेखेको श्रीरामचरितमानस हो। वाल्मीकीय रामायणको अयोध्या काण्डमा राजा दशरथका साढे ३०० पत्नी रहेको लेखिएको छ। तीमध्ये कौशल्याबाट राम, कैकेईबाट भरत र सुमित्राबाट जम्ल्याहा लक्ष्मण र शत्रुघ्न जन्मेको विवरण छ। जबकि तुल्सीदास कृत श्रीरामचरितमानसमा दशरथका तीन मात्र पत्नीको चर्चा छ।
श्रीरामचरितमानसमा रामले रावणको नाभिमा वाण हानेर वध गरेको चर्चा छ। यसअघि वाणबाट रामले रावणको घाँटी जति पटक चुँडाए पनि जोडिंदा उनी आजित भएका थिए। विभीषणले आफ्ना दाजु रावणको नाभिमा अमृतको कुण्ड रहेको जानकारी रामलाई दिन्छन्। त्यो सुन्ने बित्तिकै रामले रावणको नाभिमा वाण हान्छन्। वाल्मीकीय रामायणमा रामले रावणलाई छातीमा वाण हानेर मारेको उल्लेख छ।
रामायणको थाई संस्करणलाई रामाकिएन भनिन्छ। यो थाइल्यान्डको राष्ट्रिय महाकाव्य हो। यसमा थाइल्यान्डको संस्कृति, लोककथा र परम्पराका तत्त्व समाविष्ट छन्। रामाकिएनकै आधारमा त्यहाँको परम्परागत नृत्य, सङ्गीत, नाटक र दृश्य कला जीवन्त छन्।
थाइल्यान्डमा रामको प्रभाव विशेष गरेर राजामा देखिन्छ। त्यहाँका राजाहरूले सन् १७८२ देखि अहिलेसम्म आफ्नो उपनाम राजा राम प्रथम, द्वितीय, तृतीय हुँदै वर्तमान राजाले दशौं लेख्ने गरेका छन्। राजा राम प्रथमले शुरूमा वाल्मीकीय रामायणलाई थाइल्यान्ड संस्करणमा लेखाएका थिए। यसलाई बृहत् बनाए, राजा राम चौथोले। तिनले वाल्मीकि रामायण, विष्णुपुराण र हनुमान्को गाथालाई संयोजन गराएर रामाकिएन तयार पार्न लगाए। त्यहाँका राजालाई विष्णु भगवान्सँग जोडिन्छ।
कम्बोडियामा रामायणलाई रिएम्कर भनिन्छ। यसकै आधारमा त्यहाँ विभिन्न नृत्य प्रचलनमा छन्।
रामायणको मलेशिया संस्करणलाई हिकायत सेरी राम भनिन्छ। त्यहाँ यसलाई हिकायत महाराजा राम पनि भनिन्छ।
इन्डोनेशियामा रामायणलाई रामकथा भनिन्छ। त्यहाँ रामायणको व्यापक प्रभाव छ। त्यसमा पनि बाली टापुमा धेरै प्रभाव देखिन्छ। ८७ प्रतिशत हिन्दू धर्मावलम्बी रहेको बालीमा रामायणको संस्कृति भरिपूर्ण छ। बालीमा करीब दुई हजार वर्षअघि हिन्दू धर्म विस्तार भएपछि अन्य धर्मले प्रभाव पार्न सकेको छैन।
सौम्य शक्ति
मध्यएशियाबाट वैदिक आर्यहरू करीब ३५ सय वर्षअघि दक्षिणएशियाको सिन्धुघाँटी आसपासको क्षेत्रमा आइपुगेका थिए। उनीहरूले मध्यएशियामा रहँदै प्राचीन संस्कृतका श्लोक भन्दै आएका थिए। रोमिला थापर लिखित डिस्कोभरिङ द वेदस् पुस्तक (सन् २००८) का अनुसार, उनीहरूले उत्तर-पश्चिम भारतमा रहँदा संस्कृतका श्लोक परिमार्जन गरे। करीब २४/२५ सय वर्षअघि विश्वका प्राचीन लिपिमध्येको एक ब्राह्मी लिपि आविष्कार भयो। त्यसपछि प्राचीन संस्कृत भाषाका श्लोकहरू ब्राह्मीमा लेखिए।
वैदिक आर्यहरू उत्तर-पश्चिम भारतमा रहँदा जातको परिपाटी स्थापना गरिसकेका थिए। ब्राह्मण जातिलाई सबैभन्दा माथिल्लो स्थानमा राखियो। उसवेला धेरैजसो राज्यहरू हिन्दू धर्मका आधारमा शासित थिए। मगध, कोशल, वंस, अवन्ती आदि शक्तिशाली राज्य थिए। बौद्ध दर्शन दक्षिणएशियामा फैलिन थालेपछि भने ब्राह्मण जन्मजात उपल्लो जातको हुने मान्यता जगैदेखि हल्लियो।
त्यसपछि बौद्धमार्गीहरूलाई अवहेलना गरी बौद्ध दर्शन फैलिन भरमग्दुर प्रयास गरियो। उसवेला बौद्धमार्गीलाई ब्राह्मणहरूले अछूतको व्यवहार गरेर अपमानित गर्ने गरेको उमाकान्त पौड्याल लिखित बुद्धकालीन समाज पुस्तकमा उल्लेख छ। ब्राह्मणले बौद्ध भिक्षुलाई ‘केही काम नगर्ने अनुद्योगी, अल्छी, मागेर पेट भर्ने, आसे र सुस्वादु भोजनको कामना गर्ने हुन्छन्’ भन्थे।
बौद्ध दर्शनको विस्तारबाट ब्राह्मणहरू अत्यन्त क्षुब्ध भएका र त्यो विस्तार रोक्न रामायणको कथा लेखाइएको शेल्डन आई. पोलकले विभिन्न लेखरचना र पुस्तकमा लेखेका छन्। उनका अनुसार, रामायण विभाजनकारी साहित्य र राजनीतिक औजार हो। यसले हिन्दू राजाहरूलाई देवत्वकरण गरेको छ भने गैरहिन्दू राजालाई दानवीकरण गरेको छ। पोलककै भनाइमा बल थप्ने गरी राजीव मल्होत्राले द ब्याटल फर संस्कृत पुस्तक (सन् २०१७) मा बौद्ध दर्शनको प्रभाव कम गर्न ‘एन्टिडोज’ का रूपमा रामायण लेखाइएको बताएका छन्।
अब तुलसीदास कृत श्रीरामचरितमानसको केही चर्चा गरौं। भारतमा महमदले आक्रमण गरेर हिन्दू साम्राज्य कमजोर बनाएपछि तुल्सीदासले श्रीरामचरितमानस लेखे। तुलसीदासले वाल्मीकि रामायणलाई केही विकृत तुल्याए। रामलाई थप देवत्वकरण गरे भने गैरहिन्दूलाई अझ दानवीकरण गरे। तुलसीदासले महिलालाई घरभित्रै सीमित गर्न लक्ष्मणरेखाको परिकल्पना गरे।
एक दशकयता भारतमा हिन्दूवादी भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएसँगै धर्मको राजनीति जोडतोडसँग अघि बढाइएको छ। हिन्दूत्वको अभियानलाई फिल्म मार्फत पनि तीव्रता दिइएको छ। आदिपुरुष यसैको एक खुड्किलो हो। तर, यसले रामायणको मर्ममा प्रहार गरेको भन्दै भारतमा पनि हिन्दु समुदायबाटै आलोचना भोगिरहेको छ। फिल्ममा ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद रहेको भन्दै नेपालमा पनि काठमाडौं महानगर, पोखरा महानगर लगायतमा स्थानीय सरकारले यसको प्रदर्शनमा रोक लगाए। यसमा नागरिकको ठूलो संख्याले साथ दिएको देखियो। हलवालाहरू हच्किए, वितरकले सबैतिर फिल्म उतारे।
काठमाडौंका मेयर बालेन्द्र शाहले त निर्माण पक्षले फिल्मबाट उक्त संवाद नहटाएसम्म महानगरमा आइन्दा कुनै पनि हिन्दी फिल्म चल्न नदिने भन्दै हल हलमा नगर प्रहरी नै परिचालन गरे। तर, फिल्ममा त्यस्तो संवाद नै नरहेको पाइयो। महानगरको निर्णय विरुद्ध हल सञ्चालकहरूले हालेको रिटमा उच्च अदालत पाटनले हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिइसकेको छ।
यो घटनाले पौराणिक आख्यानलाई सौम्य शक्तिको रूपमा प्रयोग गर्दा तथ्यमा खेलाँची गरिए सह्य हुने रहेनछ भन्ने देखायो। भलै रामायणको मर्मलाई लत्याए पनि फिल्ममा नेपालको सांस्कृतिक चिनारीमा हस्तक्षेप गरिएको चाहिं पाइएन। तर, प्रस्तुति, शालीनता र प्रविधिको कसीमा आदिपुरुष बरालियो। यसर्थ कलालाई सौम्य शक्ति बनाउँदा शिष्ट, मर्यादित र वस्तुनिष्ठ हुनैपर्ने उदाहरण यो फिल्मले दिन्छ।