एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
विनियोजन विधेयक, २०८० को शीर्षकगत छलफलका क्रममा उपराष्ट्रपतिको कार्यालयका लागि खर्च शीर्षक पुस्तिका सांसदलाई उपलब्ध नगराइएको भन्दै एमालेका सांसदले विरोध गरेपछि बैठक स्थगित भएको हो।
बैठकमा एमालेका सचेतक महेश बर्तौलाले कार्यसूचीमा रहेको उपराष्ट्रपतिको कार्यालयको खर्च विवरण प्राप्त नभएसम्म छलफल अघि बढ्न नसक्ने अडान राखेका थिए। यसपछि सभामुख देवराज घिमिरेले कतिपय निकायका शीर्षक प्राप्त नभएको भए पनि बजेटको छलफल समयमै सक्नुपर्ने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए।
तर, एमालेका सांसदले पुस्तिका नआएसम्म छलफल चल्न नदिने अडान जारी राखेका थिए। त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।