ओखलढुङ्गामा पहिरो : श्रीमान् र श्रीमतीको मृत्यु, छोराछोरी बेपत्ता
राति ११ बजे आएको पहिरोमा अरू दुई घर पनि पुरिएको छ। त्यहाँ बस्नेहरूले भने भागेर ज्यान जोगाएका छन्।
ओखलढुङ्गामा गए राति पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ। सोही घटनामा परी दुई जना बेपत्ता भएका छन्।
चम्पादेवी गाउँपालिका– ८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोमा पुरिंदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमायाको ज्यान गएको हो। यस्तै गुरुङका १० वर्षीय छोरा दिनेश र १८ महीनाकी छोरी कृतिका बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले बेपत्ताको खोजी भइरहेको बताए। राति करिब ११ बजे बस्तीमाथिबाट आएको पहिरोमा परी रणबहादुरसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पुरिएको छ। ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन्। पहिरोका कारण भएको धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन। - रासस