नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित
आईसीसी विश्वकप छनोट अन्तर्गत बिहीबारको खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ।
जिम्बावेको हरारे रंगशालामा वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २३८ रनमै समेटियो। नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गरे। उनले ९३ बलमा ६३ रन बनाए।
त्यस्तै, गुल्सन झाले ४२, रोहित पौडेलले ३०, आसिफ शेख र करण केसीले २८-२८ र दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले तीन, अल्जारी जोसेफ, किमो पउल र अकिल हुसैनले दुई-दुई तथा केल मेयर्सले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजले सात विकेटको क्षतिमा ३३९ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि साई होप र निकोलस पुरनको शतकमा सात विकेट गुमाउँदै ३३९ रन बनाएको हो। होपले १२९ बलमा १३२ रन बनाए भने पुरनले ९४ बलमा ११५ रन बनाए।
त्यस्तै, वेस्ट इन्डिजका ब्रान्डन किङले ३२, रोवमन पावलले २९ र जेसन होल्डरले १६ रन बनाए।
नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए। उनले होप, पुरन र केमो पावललाई आउट गरे। त्यस्तै, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक(एक विकेट लिए।
यो जितसँगै वेस्ट इन्डिजको चार अंक भएको छ। त्यस्तै, जिम्बावेको पनि चार अंक छ। नेपाल र नेदरल्यान्डस्को दुई-दुई अंक छ। अमेरिकाले अंक जोड्न सकेको छैन।
नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार नेदरल्यान्डस्सँग प्रतिस्पर्धा गर्नेछ।