चीनको लोकप्रिय ‘विच्याट पे’ नेपालमा सञ्चालन
चिनियाँ भुक्तानी डिजिटल वालेट सेवा ‘विच्याट पे’ नेपालमा आधिकारिक रुपमा सञ्चालन भएको छ।
टेन्सेन्ट होल्डिङको यो सामाजिक सञ्जालमा आवद्ध डिजिटल वालेट नेपालमा एनएमबी ब्यांकसँगको सहकार्यमा शुरू भएको हो। चिनियाँ राजदूत छन् सोङको आतिथ्यतामा यो सेवा शुरुआत गरिएको छ।
कार्यक्रममा राजदूत सोङले नेपालमा वैदेशिक मुद्रा भित्र्याउन, डिजिटल कारोबारलाई अघि बढाउन तथा समुदायलाई सशक्त बनाउन विच्याट पेले योगदान गर्ने बताए।
यो सेवाको शुरुआतसँगै चिनियाँ पर्यटक तथा आगन्तुकले नेपालमा वस्तु तथा सेवा खरीदमा विच्याट पेमार्फत सहजै भुक्तानी गर्न सक्नेछन्। नेपाल राष्ट्र ब्यांकले एनएमबी ब्यांकलाई यस्तो कारोबारको अनुमति दिएको छ।
विच्याट पे चीनमा असाध्यै लोकप्रिय डिजिटल वालेट हो। सामाजिक सञ्जाल विच्याटसँग आवद्ध यसको प्रयोगमार्फत अधिकांश वस्तु र सेवाको किनमेलमा रकम भुक्तानी गर्न सकिन्छ। नेपालमा चिनियाँ पयर्टक लक्षित गरी यसको सेवा शुरुआत गरिएको हो।
नेपालमा पछिल्ला वर्षमा डिजिटल वालेटमार्फत रकम भुक्तानी गर्ने अभ्यास बढिरहेको छ।