आयात १६ प्रतिशतले घट्यो, विदेशबाट आयो २९ अर्बको तरकारी
बजारमा वस्तु र सेवाको माग खस्किएसँगै यो वर्ष आयात १६ प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको ११ महीना (जेठसम्म) मा वस्तु आयात १६ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, यो वर्षको जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ मूल्यका सामान आयात भएका छन्। गत वर्षको यही अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड मूल्यका वस्तु आयात भएका थिए।
सरकारले आयात नियन्त्रणका लागि विभिन्न नीतिगत बन्देजका प्रावधान अघि सारेको तथा आर्थिक सुस्तताका कारण माग घटेका कारण आयात खस्किएको हो। आयात घट्नुले देशमा आर्थिक क्रियाकलापमा शिथिलता आउने भए पनि यसले देशको विदेशी मुद्राको सञ्चितीलाई जोगाउन सहयोग गर्छ।
गत वर्ष तीव्र गतिमा विदेशी मुद्राको सञ्चिती खस्किएपछि सरकारले १० विलासी वस्तुमा आयात नियन्त्रणको घोषणा गरेको थियो। यो नियन्त्रणलाई अहिले हटाइसकेको छ।
भन्सार विभागका अनुसार जेठसम्म नेपालबाट हुने निर्यात पनि २२.७४ प्रतिशतले घटेको छ। चालु वर्षको ११ महीनामा नेपालले एक खर्ब ४३ अर्ब ५८ करोड मूल्यको वस्तु निर्यात गरेको छ। खासगरी, विदेशबाट ल्याएर नेपालमा सामान्य प्रशोधन गरी भारत निर्यात गरिँदै आएको पाम तेल लगायतका वस्तुको निर्यात खस्किएका कारण नेपालको समग्र निर्यात घटेको हो।
विभागका अनुसार यो वर्षको ११ महीनामा नेपालले वैदेशिक व्यापारमा १३ खर्ब ३७ घाटा बेहोरेको छ। यो गत वर्षको तुलनामा १५.२१ प्रतिशत थोरै हो।
यो अवधिमा नेपालले दुई खर्ब ७५ अर्ब ६६ करोड मूल्यको कृषि वस्तु आयात गरेको छ। यसमध्ये ५२ अर्ब ६५ करोडको खाद्यान्न, २९ अर्ब ६० करोडको तरकारी, १९ अर्ब दुई करोडको फलफूल, चार अर्ब ७७ करोडको चिनी छन्। त्यसैगरी, ८२ अर्ब २३ करोड मूल्यको खाने तेल तथा तेलजन्य वस्तुको आयात भएको छ।
त्यसैगरी, जेठसम्म नेपालले सबैभन्दा धेरै तीन खर्ब २१ अर्बको पेट्रोलियम पदार्थ आयात गरेको छ। यस्तै, एक खर्ब ५४ अर्बको फलाम, ३६ अर्ब १९ करोडको रसायनिक मल, ५६ अर्ब सात करोडको प्लास्टिक र यसका सामान, ९१ अर्ब ६१ करोडको मेसिन, ४८ अर्बको सवारीसाधन र पाटपूर्जा आयात भएको छ।