न्याम्सको उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन्।
न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले डा. बस्नेतलाई न्याम्सको उपकुलपति नियुक्त गरेका हुन्।
प्रधानमन्त्री एवं न्याम्सका कुलपति दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्यीय ‘सर्च कमिटी’ गठन गरेका थिए। कमिटीले उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो। उपकुलपतिका लागि ११ जनाले आवेदन दिएका थिए।
न्याम्सका निमित्त उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेत, न्याम्सका पूर्व डिन डा. पियुष दाहाल, वीर अस्पतालका पूर्व निर्देशक प्रा.डा. बुलन्द थापा, वीर अस्पतालका रेडियोलोजी विभागका प्रमुख प्रा.डा. सरोज शर्मा, प्रा.डा. अनिल मिश्र, डा. दीपक थापा, डा. रेवती रमण मल्ल, डा प्रवीण श्रेष्ठ, कान्ति बाल अस्पतालका पूर्व निर्देशक डा. अजित रायमाझी, प्रसूति तथा स्त्री रोग अस्पतालका पूर्व निर्देशक डा. अमिरबाबु श्रेष्ठ र डा. दीर्घराज जोशीले आवेदन दिएका थिए।
कमिटीले आवेदकमध्येबाट तीन जनाको नाम सिफारिश गरेको थियो। उनीहरूमध्ये डा. बस्नेतलाई उपकुलपति नियुक्त गरिएको हो।