‘नेपालमा मृत्यु संस्कारमा आधारित सङ्गीतमा खासै काम भएको छैन’
‘नेपाली सुगम भनिने सङ्गीतमा भारतीय सङ्गीतको प्रभाव अधिकतम छ। पछिल्लो पुस्ता त्यसबाट पनि बढेर पश्चिमी, कोरियन, चाइनिज सङ्गीतमा अभ्यस्त हुन थालेको छ।’
झुमा लिम्बूले नेपाली सङ्गीत सिर्जनामा दुई दशकभन्दा बढी समय बिताइसकिन्। शुरूमा गायिकाको पहिचान बनाएकी उनी अहिले सङ्गीतकार र अनुसन्धाता पनि हुन्। खास गरी रैथाने तथा जातीय सङ्गीत-संस्कृतिको संवर्द्धन र उत्थान उनको रुचि बनेको छ।
रैथाने धुन र भाकाहरूसँग देशलाई नै विश्वमञ्चमा चिनाउने खूबी रहेको ठान्ने उनी यसका लागि आवश्यक साङ्गीतिक अध्ययन-अनुसन्धानको भने कमी देख्छिन्। सङ्गीतकार लिम्बूसँग हिमालखबरका लागि पिंकी श्रीस रानाले गरेको संवाद:
तपाईं पूर्वीय र पश्चिमा दुवै विधाको सङ्गीतमा अभ्यस्त हुनुहुन्छ। यसको फाइदा के हुँदो रहेछ?
साङ्गीतिक विधा छनोट गर्दा जसलाई जेमा सजिलो लाग्छ, त्यतै जाने हो। अर्कातिर एक सङ्गीतकर्मीले ‘प्याकेज’ मा काम गर्नुपर्ने हुन्छ। यस्तोमा कहिले शास्त्रीय, कहिले पश्चिमा त कहिले लोकगीत पनि पर्छ। यी सबै कुरा मिलाएर बनेको सङ्गीत नेपालमा मात्र सीमित नभई बाहिर पनि पुग्न सक्छ। मेरो हकमा चाहिं जति जति नयाँ संस्कृति बुझ्यो उति रमाइलो लाग्छ। सक्दो धेरै संस्कृतिहरू मिसाएर काम गर्दा रमाउँछु म।
रैथाने सङ्गीतप्रति तपाईंको विशेष मोह देखिन्छ नि?
मैले १० वर्ष जति सिर्जनात्मक आधुनिक सङ्गीतमै बिताएँ। नेपाली भाषामै बढी अभ्यस्त भएकाले सिर्जनामा पनि ७० प्रतिशत जति प्रभाव त यसैको परिहाल्छ। बाँकी ३० प्रतिशतका रूपमा चाहिं अन्य जातीय र भाषिक समुदायका धुन मिसाउने प्रयास गर्छु। रैथाने भनेको हामीले बुझ्दै आएको लोकसङ्गीत मात्र नभएर प्राचीन वाद्यवादन अनि जातीय सङ्गीत पनि हुन्।
अहिले त अझ ठाउँ नतोकी ‘वर्ल्ड म्युजिक’ भन्न थालिएको छ। आखिर अर्को देशको लोकसङ्गीत पनि त्यहाँको रैथाने नै त हो। यस अर्थमा फराकिलो मञ्च हो, रैथाने सङ्गीत। सन् २००५ देखि चाहिं लोकसङ्गीततिर लागें, मुन्धुमलाई त्यसको आधार बनाएँ। जातीय सङ्गीतलाई बुझेका गुरुहरूले सबैभन्दा पहिले आफ्नै समुदायमा काम गर्न सुझाएपछि यता लागेकी हुँ।
सङ्गीत सिर्जनामा अनुसन्धानको महत्त्व कति हुन्छ?
यसमा सङ्गीत कत्तिको मौलिक बनाउने, कति बाहिर जाने भन्ने कुरा आउँछ। मौलिक सङ्गीतकर्मी बन्न त कुनै न कुनै समुदायको सङ्गीत जान्नैपर्छ। हाम्रो मूल आधार भनेकै लोकगीत हो जुन सकेसम्म धेरै जानेको राम्रो। यसले आफ्नो कामसँगै आफू कुन समुदायबाट आएको हुँ भन्ने समेत बोध गराउँदो रहेछ। मेरो हकमा म लिम्बूको सङ्गीत कसरी विकास हुँदै आएको हो भन्न सक्छु। अनुसन्धानले नै सिर्जनालाई थप गहिरो बनाउने हो।
मौलिक सङ्गीतमा काम गर्दा सङ्गीतकर्मीलाई सिर्जनात्मक स्वतन्त्रताको छूट हुन्छ कि हुँदैन?
म चाहिं बाँधिएर काम गर्दिनँ। पहिले त आफैंलाई चित्त बुझ्नुपर्यो। यसरी नबाँधिईकनै नेपाली लोकगीतमा रमाइरहेकी छु। अन्य देश र समुदायको ‘साउन्ड फ्युजन’ गर्दा पनि पूरै शास्त्रीय शैली अपनाउँदिनँ। अलि अलि लोक, अलि अलि ब्लुज यस्तै। जस्तो- झाँक्री प्रथासँग जोडिएर भारतसँगै अन्य देशमा पनि विभिन्न सङ्गीत प्रचलनमा छन्। यस्तै सङ्गीतको वरिपरि रहेर स्वतन्त्रतापूर्वक काम गर्दा रमाइलो पनि लाग्छ।
रैथाने सङ्गीतको कुरा गर्दा तपाईंका प्राय: गीत लिम्बू भाषामा छन्। भाषाकै कारण श्रोता कम भए जस्तो लाग्दैन?
सङ्गीतकर्मीले त्यो चिन्ता गर्ने नै होइन। हो, जुन भाषामा सङ्गीत गरिन्छ, त्यसको शुद्धाशुद्धि चाहिं मर्न दिनु हुँदैन। लिम्बू भाषाको गीतलाई नेपालीमा अनुवाद गरेर गाए त्यसको पहिचान मर्छ। फेरि एउटा भाषा बचाउन अर्को भाषा मार्नु पनि सही कहाँ हो र? अर्को कुरा, नेपालमा मात्र हो शब्दमा अल्झिइने। यहाँ सङ्गीत मात्र सुन्ने संस्कार विकास भइसकेको छैन।
अरू देशमा गएर गाउँदा पनि कुन भाषा हो भनेर सोध्दैनन्। मैले तराईमा मैथिलीहरूको गीत गाएकी छु, उनीहरूकै भाषामा। गुरुङ मौलिकता बोकेको गीत गुरुङकै भाषामा बनाएकी छु। जसको मौलिक भाषा छैन, उसका लागि त विकल्पका रूपमा खस भाषा छँदै छ। तर, आफ्नै भाषा भएकाहरूको मौलिक गीत अर्को भाषामा अनुवाद गरेर ल्याउनु चाहिं ठूलो अपराध हो।
‘मुन्धुम अफ क्रिएशन’ मा यहाँले पानीको थोपासँग खेल्नुभएको छ भने ‘मेरिङ’ गीतमा हावाहुरीको आवाजसँग। प्रकृतिको झल्को दिने यस्ता प्रयोगका पछाडि कुनै दार्शनिक पक्ष पनि छ?
जातीय सङ्गीतमा यिनको केही झल्को पाइन्छ। जस्तो- मुन्धुममा पानीको थोपा चलाउनुले सृष्टिलाई सङ्केत गर्न खोजिएको हो। सृष्टिको कुरा गर्दा कुन ग्रह कहिले बने, हावाहुरी वा पानी कहिले बने भन्नेमा धर्मग्रन्थका आआफ्नै बहस छन्। प्रकृतिलाई लिएर भएको यही बहसलाई सङ्गीतमा उतारेकी हुँ। मुन्धुमले भने अनुसार सृष्टिलाई ध्वनिमा सिर्जना गरिएको हो।
लिम्बू समुदायकी तपाईं अन्य समुदायको सङ्गीतमा काम गर्दा कत्तिको चुनौती महसूस गर्नुहुन्छ?
हामीले सके जति गर्ने हो। अस्ति गुरुङ समुदायको एउटा गीत गरें। मलाई गुरुङ भाषा त आउँदैन, तर एक खेप उनीहरूले गाएको सुनेपछि टोन बुझ्न सकिन्छ। स्टेजमा उत्रँदा कमसेकम उनीहरूको भाषा र टोन नमर्ने गरी जस्ताको त्यस्तै उतार्ने प्रयास गर्छु। अर्को समुदाय, भूगोलमा जाँदा नयाँ कुरा सिकिंदै पनि गइन्छ। फेरि नेपालका हरेक समुदायका परम्परागत व्यवस्था, खासगरी खानपान र अन्य संस्कृति रमाइला खालका छन्। तिनमा भिज्न सजिलो छ।
तपाईंले लिम्बू सङ्गीतलाई विश्वमञ्चमा लैजानुभयो। नेपालका अरू रैथाने सङ्गीतलाई पनि लैजान के गर्नुपर्ला?
जसरी हाम्रो आफ्नै इतिहास विदेशीले लेखेको र तिनकै पुस्तकालयमा गएर पढ्नुपरे जस्तो अवस्था सङ्गीतमा पनि छ। हामी आफैंले आफ्ना कुरा खोजेका छैनौं। जबकि भाषा बुझेको सोही समुदायको मान्छेले काम गर्दा १०० प्रतिशत दिन सक्छ। भाषा नबुझेकाले दिन सक्ने त १० प्रतिशत मात्र हो। अर्थात् रैथाने वातावरण थाहा नभएको बाहिरी मान्छेले गर्ने अध्ययन-अनुसन्धान नब्बे प्रतिशत गलत हुन सक्ने रहेछ।
त्यसैले रैथाने सङ्गीत उठाउन त्यही समुदायको मान्छे खटिनुपर्छ। तर, हामीकहाँ चाहिं दुई-चार दिन शास्त्रीय सङ्गीत सिक्यो, गायो, चर्चित भयो अनि सकियो। खोइ आफ्नो समुदायको सङ्गीतमा काम गरेको? विदेशीलाई चिनाउन सकेको? यही नहुँदा विदेशीहरू नेपाली सङ्गीतलाई पनि भारतीय भनिदिन्छन्। अहिले हरेकजसो समुदायका मान्छे सङ्गीतमा छन्। तिनले एउटा एउटा मात्रै काम गरिदिए पनि विश्वमञ्चमा मौलिक उपस्थिति जनाउन सघाउ पुग्छ।
यहाँले नयाँ बाजा पनि बनाउनुभयो, ढेला। यसको आवश्यकता किन महसूस भयो? निर्माण कसरी सम्भव भयो?
केही ठूला अन्तर्राष्ट्रिय स्टेज पुग्दा हाम्रा बाजामा कमी रहे जस्तो लाग्यो। खासगरी बेस ध्वनि निकाल्ने राम्रो बाजा नभए जस्तो। त्यसैले हाम्रो कुनै रैथाने बाजा नै त्यस्तो छ कि भनेर सबैतिर खोजें। नपाएपछि आफैं बनाउनतिर लागें। खोजे जस्तो बाजा अलि ठूलो हुन्छ भन्ने सामान्य अनुमान त थियो, तर ठ्याक्कै कस्तो भन्ने थिएन। मैले हाम्रोमा प्रचलनमा रहेको दमाहालाई नै थप विकास गर्ने सोचें। यसका लागि काठ छनोट गर्न मुन्धुमले सघायो।
मुन्धुम मान्यता अनुसार खमारीको काठले राम्रो आवाज दिंदो रहेछ। कीरा पनि लाग्दो रहेनछ। लकडाउनको फुर्सदमा बाजा बनाउन भनेरै प्रदेश सरकारसँग यात्रा अनुमति लिएँ। आफ्नो ठाउँ भएकाले मलाई यो काम गर्न पूर्व नै सजिलो हुन्थ्यो। त्यहाँ झन्डै एक वर्ष लाग्यो। फेरि त्यसलाई ‘फिनिशिङ’ दिन पाटन ल्याइयो। अहिले यही बाजा बजाइराखेकै छौं। स्टेज प्रस्तुतिदेखि रेकर्डिङसम्म यसले ठाउँ पाइराखेकै छ।
नाम चाहिं कसरी जुराउनुभयो?
यो हेर्दा ठ्याक्कै दमाहा जस्तै छ। तर, नेपालमा प्रचलित दमाहा सहितका बाजा अरू नै देशले आफ्नो नाममा दर्ता गरिसकेका छन्। अब हामीले नेपाली पेटेन्ट चाहिं के नाममा दर्ता गर्ने त? ओखलढुंगा, सोलुखुम्बुतिर थुलुङहरूले ढेला भनिने छालाको यस्तै खाले बाजा बजाउँछन्। नवनिर्मित बाजालाई त्यही मौलिक नाम दिने योजना बनायौं। यसका लागि उक्त समुदायसँग अनुमति पनि लियौं। यसरी नेपालको एउटा बाजा भए पनि हाम्रै नाममा दर्ता भयो।
लिम्बू संस्कृतिमा आधारित चलचित्र जारीमा यहाँले सङ्गीतकार र परामर्शदाताका रूपमा काम गर्नुभयो। यसमा रैथाने सङ्गीत र संस्कृति कत्तिको समेटिएको छ?
लिम्बूको परम्परागत लोकगीत पालम यसमा प्रयोग गरिएको छ। पालममा बिहेबारी, मायाप्रेमका कुरा गीत मार्फत भनिन्छ। कोही मन पर्यो भन्दैमा सोझै भनेर त कसैले मान्दैन। यसो गरिनु अलि ठाडो पनि हुन्छ। त्यसैले ती कुरा शालीन शैलीमा पालमबाट व्यक्त गरिन्छ। त्यसैगरी ख्याली पनि प्रयोग गरिएको छ। ख्याली गायनभन्दा कवितात्मक शैलीको हुन्छ। जारीकै उदाहरण लिऔं। मेलामा केटीहरूले केटालाई तानेर लगी कविता भन्न थाल्छन्। त्यसमा आफू को अनि कहाँबाट आएको भन्ने विवरण छ।
फेरि लिम्बू समुदायमा सात पुस्ताको साइनो खेद्ने चलन छ। साइनो लागेन र मन मिल्यो भने चाहिं महीनौं पालम गाएर विश्वास दिलाएपछि बल्ल बिहेबारी हुन्छ। ख्याली र पालमको शब्द संरचना उस्तै उस्तै हुने भए पनि एउटा गाइने विधा हो भने अर्को भट्ट्याउने। पालम अलि बृहत् किन छ भने यसमा खेतीपाती युग शुरू भएदेखिकै कुरा पाइन्छन्।
लिम्बूको अर्को विशेष सङ्गीत हुन्छ, हाक्पारे। यो त झन् विद्यावारिधि गरे जत्तिकै ज्ञान हो, पूरै ब्रह्माण्डकै कथा आउँछ। जो पायो त्यहीले जान्दैन। तैपनि हाम्रो समुदायका तुम्बेहाङहरूले यसलाई जोगाइरहनुभएको छ। मतलब, विधागत हिसाबले सबैभन्दा उच्च हाक्पारे अनि मात्र पालम हो।
अब नेपाली सुगम सङ्गीततर्फ जाऔं। यसका सीमितता के के हुन्?
नेपाली सुगम भनिने सङ्गीतमा भारतीय सङ्गीतको प्रभाव अधिकतम छ। पछिल्लो पुस्ता त्यसबाट पनि बढेर पश्चिमी, कोरियन, चाइनिज सङ्गीतमा अभ्यस्त हुन थालेको छ। तर, हाम्रा रैथाने सङ्गीतमै पस्ने हो भने अनेक स्वाद छन्। तिनलाई समेट्न सके सुगम सङ्गीत अहिलेको सीमितताबाट बाहिर निस्कन सक्छ। एउटै समुदायबाट कति धेरै गीत बन्न सक्छन्? यसबाट नेपाली सङ्गीत अझ फराकिलो हुन सक्छ।
निकट भविष्यमा तपाईंका केकस्ता सिर्जना सुन्न पाइनेछन्?
लेखक इन्द्रबहादुर राईद्वारा लिखित ‘जार’ कथामा आधारित चलचित्र बन्दै छ। त्यसका लागि सङ्गीत बनाउने काम लगभग सकियो। साथी गंगा थापा र म मिलेर तयार पारेका हौं। अर्को चाहिं नेपालमा मृत्यु संस्कारमा आधारित सङ्गीतमा खासै काम भएको छैन। लब्धप्रतिष्ठ व्यक्तिहरूको शवयात्रामा बजाइने शोकधुन छैन। अब मुन्धुम संस्कृतिमा आधारित भएर यस्तै धुन विकास गर्ने तयारीमा छौं। दुई-तीन वर्षदेखिको प्रयास अन्तिम चरणतिर आइपुगेको छ।