कानूनमन्त्रीको ज्यान जाने गरी भएको दुर्घटना छानबिन गर्न समिति गठन
सुदूरपश्चिम प्रदेश सरकारले बझाङ दुर्घटनाको छानबिन गर्न सात सदस्यीय छानबिन समिति गठन गरेको छ।
आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी असार ५ गते बझाङमा दुर्घटना भएको थियो। दुर्घटनामा मन्त्री सिंह सहित तीन जनाको निधन भएको थियो।
दुर्घटनाको छानबिन गर्न मुख्यमन्त्री कार्यालयका सचिव गंगाबहादुर खरेलको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक, सशस्त्र प्रहरीका उपरीक्षक, मुख्यमन्त्री कार्यालयका उपसचिव नवराज ओझा, मुख्यन्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता टेकबहादुर थापा, यातायात व्यवस्था कार्यालय, धनगढीका मेकानिकल इन्जिनीयर छन्। त्यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थीलाई सदस्य सचिव तोकिएको छ।
छानबिन गरेर प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए। समितिले दुर्घटनाको सत्यतथ्य छानबिन गर्ने मुख्यमन्त्री शाहको भनाइ छ।
दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र मन्त्रीका नातेदार जयादेवी सिंहको घटनास्थलमै ज्यान गएको थियो। गाडीमा सवार मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशी घाइते भएका छन्।
सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट २५ मिटर तल कालंगा खोला किनारमा खसेको थियो।