दुई महीनापछि पुनःसञ्चालनमा आयो उदयपुर सिमेन्ट उद्योग
दुई महीनासम्म बन्द हुँदा उद्योगले २० करोड रुपैयाँभन्दा बढी घाटा बेहोर्नुपरेको थियो।
उदयपुर जिल्लाको त्रियुगा नगपालिका–५, जलजलेमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि पुनःसञ्चालनमा आएको छ। कोइला लगायत कच्चा पदार्थको अभाव तथा व्यवस्थापन-मजदूरबीचको विवाद र कर्मचारी आन्दोलनका कारण उद्योग बन्द भएको थियो।
उद्योग व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार बस्नेतका अनुसार दुई महीनापछि बुधबार बिहान ७ बजेबाट उद्योग पुनःसञ्चालनमा आएको हो। उनले अब नियमित उत्पादन र बजारीकरण जारी रहने पनि बताए।
दुई महीना बन्द हुँदा उद्योगले २० करोड रुपैयाँभन्दा बढी घाटा बेहोर्नुपरेको पनि अध्यक्ष बस्नेतले बताए। -रासस