नौ वर्षमा पहिलो पटक पत्रकारसँग दोहोरो संवाद गर्दै नरेन्द्र मोदी
अमेरिकाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै छन्।
अमेरिकामा बिहीबार पत्रकार सम्मेलन हुने लागेको हो। पत्रकार सम्मेलनमा मोदीले पत्रकारको प्रश्नको जवाफ दिने ह्वाइट हाउसले जनाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गर्दै ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा मामिला प्रवक्ता जोन किर्बेले यसलाई ‘अर्थपूर्ण’ भनेका छन्। केही अन्तर्वार्ता बाहेक मोदीले मिडियासँग प्रत्यक्ष संवाद गरेका छैनन्।
दुई कार्यकाल गरी नौ वर्षसम्म प्रधानमन्त्री रहँदा उनी आफैंले एउटा पनि पत्रकार सम्मेलन आयोजना गरेका छैनन्। सन् २०१९ मा उनी एक पत्रकार सम्मेलनमा उपस्थित भए पनि पत्रकारलाई प्रश्न सोध्न दिइएको थिएन।
“यो भ्रमणको अन्त्यमा प्रधानमन्त्री मोदीले पत्रकार सम्मेलनमा भाग लिंदै हुनुहुन्छ, हामी आभारी छौं,” किर्बेले भनेका छन्, “हामी यो महत्त्वपूर्ण छ भन्ठान्छौं र उहाँले पनि यसलाई महत्त्वका साथ लिनुभएकोमा प्रसन्न छौं।”
यस पत्रकार सम्मेलनमा एउटा प्रश्न अमेरिकी पत्रकारबाट र अर्को प्रश्न भारतीय पत्रकारबाट सोधिने तय गरिएको छ।
सीएनएनका अनुसार पत्रकार सम्मेलनमा प्रश्न सोध्न छूट दिनका लागि भारतीय पक्षलाई तयार पार्न अमेरिकी आयोजकलाई कठिन भएको थियो। भारतीय पक्षले संयुक्त वक्तव्य जारी गर्न मात्रै दबाब दिइरहेको थियो।
मोदीको भ्रमणको पूर्वसन्ध्यामा मात्रै भारतीय अधिकारीहरू दुई देशका नेता एक्लाएक्लै उपस्थित हुने र दुवै तर्फका एक–एक जना पत्रकारले प्रश्न सोध्ने तय भएको सीएनएनले जनाएको छ।