वेस्ट इन्डिजसँगको खेलमा नेपालले फिल्डिङ गर्ने
आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत वेस्ट इन्डिजसँगको खेलमा नेपालले फिल्डिङ रोजेको छ।
कप्तान रोहित पौडेलले टस जितेर वेस्ट इन्डिजलाई ब्याटिङको निम्ता दिएका हुन्। आजको खेलमा कुनै खेलाडी परिवर्तन नगरिएको पनि कप्तान पौडेलले बताए।
वेस्ट इन्डिजसँगको खेलमा कप्तान पौडेलसँगै कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करण केशी, सन्दीप लामिछाने र ललित राजवंशी ‘प्लेइङ–११’ मा परेका छन्। अमेरिकालाई हराउँदा पनि यही टोली थियो।
नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो। त्यस्तै, यसअघिको खेलमा वेस्ट इन्डिजले अमेरिकालाई पराजित गरेको थियो।
नेपाल र वेस्ट इन्डिज पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। वेस्ट इन्डिजले दुई पटक विश्वकप जितिसकेको छ।