बजेटमा मधेशलाई उपेक्षा गरिएको छ, सच्चिनुपर्छ: उपेन्द्र यादव
सत्तारूढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आगामी आर्थिक वर्षको बजेट संशोधन गर्नुपर्ने बताएका छन्।
जसपा केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले बजेट सच्याएर मात्रै अगाडि बढिने बताए। बजेट सच्याएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो।
गठबन्धनमा रहेका दलसँग छलफल नगरी बजेट ल्याइएको उनको भनाइ थियो। “अहिलेको बजेट एकलौटी ढङ्गबाट ल्याइएको छ। गठबन्धनमा रहेका दलहरूसँग छलफलै गरिएको छैन,” यादवले भने।
बजेटले धेरै क्षेत्रलाई उपेक्षा गरेको उनको आरोप थियो। “मधेश लगायत धेरै क्षेत्रलाई बजेटले उपेक्षा गरेको छ,” यादवले भने, “त्यसैले सच्याउनुपर्छ, सुधार गर्नुपर्छ।”
अर्थमन्त्री प्रकाशशरण महतले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेट तीन जिल्लाकेन्द्रित भएको गठबन्धनमै रहेका दलहरूका नेताले आरोप लगाउँदै आएका छन्। विशेष गरेर प्रधानमन्त्री पुष्पकमल दाहालको क्षेत्र गोरखा, पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको क्षेत्र डडेल्धुरा र अर्थमन्त्री महतको क्षेत्र नुवाकोट केन्द्रित भएको नेताहरूको आरोप छ।
जसपा अध्यक्ष यादवले पनि त्यसलाई इंगित गर्दै धेरै क्षेत्र उपेक्षामा परेको बताएका हुन्। “यो बजेटमा न्यायोचित वितरण भएको छैन। अब सच्चिएर अगाडि बढ्छ,” यादवले भने।